साउन-३०, खोटाङ जिल्लाका दुईवटा सामुदायिक विद्यालयमा बाल मैत्री कक्षा सञ्चालन गरिएको छ । खोटाङको सदरमुकाम दिक्तेल–७ सोल्मास्थित हिमालय निमावि र दिक्तेल–३ स्थित पञ्चमाविमा बाल मैत्री कक्षा शुरु गरिएको हो ।
गाउँ बाल संरक्षण समिति दिक्तेलको पहलमा कक्षा–१ मा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्रीहरुसँग मिल्दोजुल्दो खेलौना, चार्ट, कार्पेटलगायतका सामाग्रीहरु उपलब्ध गराइएपछि बाल मैत्री कक्षा शुरु भएको संरक्षण समितिका अध्यक्ष उद्धवप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार बालबालिकाका लागि गाविसबाट छुट्याईएको १० प्रतिशत रकम अन्तर्गत उक्त सामाग्री उपलब्ध गराईएको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको कारण विद्यार्थीहरुलाई व्यवहारिक शिक्षातर्फ उन्मुख गराउनका लागि बाल मैत्री कक्षा सञ्चालन गरिएको समितिका सचिव गंगा विश्वकर्माले बताउनुभयो ।