साउन–३२, खोटाङ सदरमुकाम दिक्तेलका होटल व्यवसायीले लोकसेवा आयोगको परीक्षा दिन आएका परिक्षार्थीबाट खाना, खाजा र आवास वापत चर्को शुल्क उठाएको गुनासो आएपछि दिक्तेलबजार अनुगमन गरिएको छ । 
स्वास्थ्य सेवा अन्तर्गत अहेव र अनमीको परीक्षा दिन आएका परीक्षार्थीहरुबाट होटल व्यवसायीले खाना, खाजा र बासमा बढि शुल्क लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघले दिक्तेल बजारका साना तथा ठूला होटलहरुमा छड्के अनुगमन गरेका हुन् । 
सदरमुकाम दिक्तेलमा पर्याप्तमात्रामा बस्ने, खाने होटल तथा कोठाहरुको व्यवस्था नहुँदा समस्यमा परेका परीक्षार्थीहरुबाट चर्को शुल्क लिइएको गुनासो आएपछि बजार अनुगमन गरिएको खोटाङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो । 
अनुगमनकाक्रममा भेटिएका खाना, खाजा र बासमा बढि शुल्क उठाइरहेका होटल व्यवसायीलाई साबिकभन्दा बढि शुल्क नलिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो । यस्तै, होटल व्यवसायीले मौकाको फाइदा उठाउँदै बढि शुल्क लिए तत्काल प्रशासन वा प्रहरीलाई खबर गर्न आयोगका परीक्षार्थीलाई प्रशासनले आग्रह गरेको छ । 

अहेव तथा अनमीको परीक्षाकालागि मुलुकभरबाट आएका परीक्षार्थीको चापका कारण सदरमुकाम दिक्तेल तथा आसपासका गाउँमा समेत कोठाको अभाव भएको छ । दिक्तेल बजारका साना तथा ठूला होटल तथा पशलहरु परीक्षार्थीले खचाखच बनेका छन् । अनमीको परीक्षा बिहिबार सकिएको छ, भने अहेवको परीक्षा शनिबार हुँदै छ । 
१९२ जना अहेब कोटाका लागि ६ हजार  ५७ जना र ८५ जना अनमी कोटाका लागि १ हजार ८ सय ३० जनाले गरी जम्मा ७ हजार ८ सय ८७ जनाले आयोगको फर्म  भरेको लोकसेवा आयोगको सगरमाथा अञ्चल कार्यालय खोटाङले जनाएको छ ।