भदौ–२, स्थानीयबासीको विवादका कारण लामो समय अवरुद्ध बनेको खोटाङको रसुवा–कालापानी–खोटाङबजार सडक सर्भेका काम सुचारु भएको छ । 
सडकको रुट परिवर्तनको माग गर्दै आएका सिमपानीका स्थानीयबासी तथा लिच्कीराम्चे, बराहपोखरी, खोटाङबजार, इन्द्रेणीपोखरी र चिप्रीङबासीबीच भएको वार्तामा सहमती जुटेपछि रसुवा–खोटाङबजार सडक सर्भेका काम पुःन सुचारु भएको हो । 
जिल्लाको महुरे–फोक्सिङटार सडक निर्माणकाक्रममा उब्रिएको स्वीस सरकारको करिब २७ करोड रकमबाट रसुवा–कालापानी–खोटाङबजार सडक निर्माणको तयारी गरिएको हो । सिमपानीबासीले निर्माण गर्न लागिएको रसुवा–कालापानी–खोटाङबजार सडकको रुट परिवर्तन गर्दै रसुवा–लिच्कीराम्चे–सिमपानी हुँदै खोटाङबजार जोड्न माग गर्दै आएका थिए । 
स्थानीयबासीबीच बिवाद बढ्दै जान थालेपछि स्वीस सरकारले लगानी फिर्ता लैजाने चेतावनी दिएसँगै सिमपानी क्याम्पस प्रमुख राजनप्रसाद ढकालको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकले सडक सर्भेकाक्रममा भएको विवादमा सहमती जुटाएको हो ।
 एमाले खोटाङका अध्यक्ष बिशाल भट्टराई र जिल्ला विकास समितिका पुर्वसभापति पर्शुराम कार्की लगायतको उपस्थितिमा भएको वार्तामा रसुवाघाटलाई जिरोपोइन्ट मान्दै लिच्कीराम्चे–बस्तीपुर–दुमीटार–सिम्ले आहालहुँदै खोटाङबजार जोड्ने सडक निर्माणकालागि सर्भे गर्ने सहमती भएको पान्धारे–रसुवा सडक निर्माण उपभोक्ता समितिका निवर्तमान अध्यक्ष दिपबहादुर थापाले बताउनुभयो । 
सिमपानीबासीले रुट परिवर्तनको माग शुरु गरेपछि रसुवा–कालापानी–खोटाङबजार सडक सर्भेका काम महिना दिनअघिदेखि अवरुद्ध बनेको थियो । पछिल्लो समय रुट परिवर्तनकै बिषयमा पार्टीगतरुपमा बिवाद चर्किएको कांग्रेस नेता भुवन श्रेष्ठले बताउनुभयो ।