भदौ–२, लोकसेवा आयोगको परीक्षा दिएर फर्कनेक्रममा खोटाङमा रुकुम र जाजरकोटका परीक्षार्थीहरु लुटिएका छन् । 
लोकसेवा आयोग अन्तरगत अहेव र अनमीको परीक्षा दिएर घर फर्कनेक्रममा जाजरकोट, रुकुम लगायतका पश्चिमी नेपालका परीक्षार्थीहरु लुटिएका हुन् ।
शनिबार भएको अहेवको परीक्षा सकाएर घर फर्कनेक्रममा खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थल परीक्षार्थीहरु शनिबारै साँझ लुटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्द साहले बताउनुभयो । लुटेराहरुको समुहले १७ जना परीक्षार्थीलाई कुटपिट गर्दै नगद २१ हजारसहित गरगहना लुटेर लगेको प्रहरी नायव परीक्षक साहको भनाइ छ । 
लुटेराहरुको समुहले आक्रमण गर्दै लुटपाट गर्न थालेपछि भाग्नेक्रममा केही परीक्षार्थीहरु घाइते भएको प्रहरीले जनाएको छ । लुट्नमा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय १३ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ ।
अहिले घटनाको विषयमा अनुसन्धान भइरहेकाले यस विषयमा बिस्तृत विवरण अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनमीको बिहिबार र अहेवको शनिबार परीक्षा दिएर फर्कनेक्रममा उनीहरु लुटिएका हुन् ।