भदौ–२, प्रहरी यातनाकै कारण आफन्तको ज्यान गएको भन्दै खोटाङमा प्रहरी विरुद्ध ज्यान मार्ने अभियोगको उजुरी परेको छ । 
हिरासतमा रहेको समयमा प्रहरीको चरम यातनाकै कारण आफ्नो छोरा किरण राईको ज्यान गएको भन्दै खोटाङ पाथेका–२ का बुबा वुद्धिबहादुर राई र आमा रामलक्ष्मी राईले प्रहरी विरुद्ध उजुरी दिनुभएको हो । 
ज्यान मुद्धामा अनुसन्धानका लागि हिरासतमा रहेको बेला १८ वर्षीय भुदेउ भनिने किरण राईको प्रहरी कुटपिट तथा चरम यातनाका कारण ज्यान गएको भन्दै तत्कालिन प्रहरी नायव उपरीक्षक राजिब बस्नेत, प्रहरी निरीक्षक रमेशकुमार देवलगायत जिल्ला प्रहरी कार्यालय खोटाङलाई बिपक्षी बनाएर उजुरी दिइएको मृतकका आफन्त रञ्जीब राईले बताउनुभयो । प्रहरी हिरासतमा रहेको समयमा भुदेउको गत असार–२६ गते प्रहरीको यातनकै कारण ज्यान गएको पीडित परिवारको भनाइ छ । 
आईतबार परेको उजुरीमा घटनामा संलग्नलाई छानबिनगरि तत्काल कानूनी कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तीको माग गरिएको छ । आफ्नो दोष ढाकछोपकालागि जिल्ला प्रशासन, जिल्ला प्रहरी र अस्पतालको मिलेमतो भइरहेको उनीहरुले आरोप लगाउँदै आएका छन् । 
प्रहरी हिरासतमा रहेको अवस्थामा आँखामा रगत जमेको, अनुहार र हातखुट्टा सुन्निएको, रगत छादेको र पिसाबबाट रगत गएको देखिएका कारण राईको प्रहरीको शारीरिक यातनाबाटै ज्यान गएको पीडितको भनाइ छ । कुटपिट र यातनाबाट ज्यान गएको छोरालाई प्रशासन र प्रहरीले निमोनियका कारण ज्यान गएको भन्दै ढाकछोप गर्न खोजेको मृतककी आमा लक्ष्मी राईले बताउनुभएको छ । 
यसैबीच, पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिइएका थुनुवाको ज्यान गएको विषयमा जिल्लास्थित राजनैतिक दलहरुले समेत सत्यतथ्य सार्वजनिक गर्न दवाव दिइरहेका छन् । उनीहरुले घटनाका विषयमा यथार्थ छाबिन गर्नुपर्ने र उचित क्षतीपूर्ती दिलाइनु पर्ने पीडितहरुको माग जायज भएको बताउँदै आएका छन् । 
उता, उजुरी परेकाले प्रहरी हेडक्वाटरमा बुझेर दर्तागरि छानबिनको प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दप्रसाद साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफू नभएको समयमा भएको घटना भएकाले यर्थाथ बुझेर प्रक्रिया अगाडि बढाउनेछु ।’