भदौ-४, खोटाङका एक कार्यालय प्रमुखमाथि हातपात गर्ने युवाहरुलाई प्रमुख जिल्ला अधिकारीले संरक्षण गरेको भन्दै जिल्लास्थित नागरिक समाज तथा राजनीतिक दलसंबद्ध युवा संगठनले विरोध जनाएका छन् । पूर्वाञ्चल सिंचाइ सव डिभिजन कार्यालय खोटाङका प्रमुख एकराज भट्टराईलाई हातपात गर्ने एमाले सम्बद्ध युवा संघ नेपालका केन्द्रीय सदस्य दीलचक्र राई, हरि गुरुङ र खेमराज देउसालीलाई कानूनी कारबाही गर्नुको साटो उन्मुक्ति दिएको भन्दै विरोध जनाएका हुन् ।
कार्यालय प्रमुख भट्टराईलाई भदौ ३ गते कार्यालय प्रमुखहरुको बैठक सकेर फर्कने क्रममा सदरमुकाम दिक्तेलस्थित एभरेष्टगेस्ट हाउसमा बोलाएर कुटपिट गरेका थिए । प्रमुख भट्टराईलाई हातपात गर्ने तीनै जनालाई प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेकपा एमालेका जिल्ला अध्यक्ष विशाल भट्टराई, अञ्चल कमिटी सदस्य पिके राई र जिल्ला सदस्य कुमारप्रसाद आचार्यले विना कुनै कारबाही छुटाएका छन् । उनीहरुलाई भदौ ३ गते राती प्रहरीले पक्राउ गरेका थिए ।
प्रजिअ नेपाललाई पटकपटक जानकारी गराउदा समेत वास्ता नगरेको र आफूलाई प्रहरी कार्यालयमा बोलाएर प्रजिअ नेपालले हप्काउदै मिल्न बाध्य बनाएको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई वर्षदेखि सञ्चालित लप्से(पञ्चमी सिंचाइ योजनाको रकम निकासाको विषयमा उनीहरुले आफ्नै गेष्ट हाउसमा बोलाएर आक्रमण गरे’ उहाँले थप्नुभयो, ‘योजनाको कामै नगरी रकम भुक्तानी गर्न सक्दिन भन्दा चुटाइ खाइयो ।’
यसका विषयमा नेपाली कांग्रेस सम्बद्ध तरुण दल र विद्यार्थी संघले मंगलबार एक विज्ञप्ती जारी गर्दै चर्को विरोध जनाएको छ । तरुण दलका कार्यबाहक जिल्ला अध्यक्ष विजय गुरुङ र नेविसंघका महाधिबेशन प्रतिनिधि तथा पूर्व जिल्ला अध्यक्ष दिनेश घिमिरेले जिल्लामा गुण्डागर्दी मौलाउनुमा प्रमुख जिल्ला अधिकारीको हात आरोप लगाएका छन् ।
उनीहरुले जिल्लास्थित मौरे-फोक्सिङटार सडक खण्डमा काम गर्ने कामदारको रकम लुट्नमा संलग्न सोही समूहलाई कारबाही गर्नुको साटो जोगाएको तथा अन्य विकासे योजनामा समेत अवरोध पु¥याउदै आएका युवाहरुलाई कारबाही गर्नु पर्नेमा मिलापत्र गराएर छाडिएको दावी गरेका छन् । अपराधीहरुलाई बचाउनाले आगामी हुने भनिएको संविधानसभाको दोश्रो निर्वाचन समेत निस्पक्ष र धादली रहित हुन नसक्ने विज्ञप्तीमा उल्लेख छ । यता, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने आफूले अपराधिलाई नजोगाएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘पीडित व्यक्ति आफैले मिल्ने भनेपछि कारबाहीको प्रक्रिया अगाडि नबढाइएको हो ।’
यसो गर्नुले जिल्लामा गुण्डागर्दी मौलाउँदै गएको नागरिक समाजको ठहर छ । उनीहरुले भनेका छन्, ‘यस्तै हुँदै जाने हो भने, सर्वसाधारणले शान्तिसुरक्षाको प्रत्याभूति कहाँ गएर गर्ने ?’