भदौ–६, युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका खोटाङका एक व्यक्तिलाई जिल्ला अदालतले साधारण तारेखमा छुटकारा दिएको छ । 
एसएलसीको पूरक परीक्षा दिन सदरमुकाम दिक्तेल आउँदै गरेकी बुइपाकी एक युवतीलाई साउन–१२ गते बलात्कार गरेको आरोपमा पक्राउ परेका दिक्तेल–४ का पर्शुराम आचार्यलाई अदालतले साधारण तारेखमा छुटकारा दिएको हो ।
घटना लगत्तै बलात्कारीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै आएका जिल्लाका दर्जनभन्दा बढि संघसंगठनमा आवद्ध महिला अधिकारकर्मीहरुले अदालतले छुटकारा दिएको प्रति आक्रोसित व्यक्त गरेका छन् । बलात्कारीलाई कानूनी कारबाहीमा ल्याउनुको साटो उल्टै साधारण तारेखको छुटकारा दिएको प्रति आक्रोस व्यक्त गर्दै उनीहरुले कानूनी राज्यको उपहास भएको बताएका छन् । 
अपराधलाई ढाकछोप गर्दै दोषीलाई बचाउने प्रपञ्च रचिएको महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङकी अध्यक्ष पूर्णमायाँ तामाङले बताउनुभयो । घटना लगत्तै आफूहरुले दोषीलाई कारबाही र पीडितलाई उचित व्यवस्थापन तथा क्षतिपूर्तीको माग गरेपनि अदालतले पीडकलाई संरक्षण गरेको अध्यक्ष तामाङले आरोप लगाउनुभयो ।