भदौ–७, खोटाङमा चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

खार्मी–१ बस्ने विश्वकर्मा थरकी चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा खार्ताम्छा–७ का १८ वर्षीय आसधन विश्वकर्मा पक्राउ परेका हुन् ।

भदौ–१ गते दिउसो करिब साँढे दुई बजेतिर बलात्कार गरेको पीडित बालिकाको आफन्तले दिएको उजुरीको आधारमा आसधनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पीडित बालिकाको आफन्तले भदौ–४ गते प्रहरीमा उजुरी दिएपछि खटिएको प्रहरीको टोलीले बिहीबार पीडक आसधनलाई पक्राउ गरेको जनाइएको छ ।

खार्मी–१ स्थित दिदीकोमा बस्दै आएका आसधनले आफ्नै खेताला आएको दिन जबरजस्ती करणी गरेको पीडित बालिकाको बुबाले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘दिउसोको  खाजा खाने समयमा छोरीलाई बिस्कुट किनिदिने भन्दै फकाएर लगेका थिए, ढिलो गरेपछि खोज्दै जाँदा जबरजस्ती गरिरहेको अवस्थामा फेला प¥यो ।’

छोरी बलात्कृत भएपछि गाउँमै मिलाउने वातावरण तयार नभएपछि चारदिनपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएको आफन्तले जनाएका छन् । पीडक र पीडितवीच नातेदारको सम्बन्ध बिग्रन नदिन गाउँमै मिलाउने प्रयास गरिएको पीडित बालिकाको बुबाको भनाइ छ ।

यसैवीच, बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउपरि प्रहरी हिरासतमा रहेका दोर्पाचिउरीडाँडा–३ का प्रेमबहादुर पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । साउन–१२ गते दिक्तेलबाट घर जानेक्रममा पाण्डेले आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा परेका थिए ।