भदौ–८, प्रहरी हिरासतमा ज्यान गुमाएका मृतकका परिवारले जिल्ला प्रहरी कार्यलय खोटाङमा दिएको उजुरी हप्ता दिन बितिसक्दा पनि दर्ता हुन सकेको छैन् । 
प्रहरी यातनाकै कारण आफन्तको ज्यान गएको भन्दै तत्कालीन प्रहरी नायव उपरीक्षक राजिब बस्नेत र प्रहरी निरीक्षक रमेशकुमार देव विरुद्धको परेको उजुरी दर्ता हुन नसकेको हो । 
दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तीको माग गर्दै गत भदौ–२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । प्रहरीले भने, हेडक्वाटरमा सम्पर्क गर्ने र उहाँबाट आएको सुझावका आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएपनि अझै हेडक्वाटरमा सम्पर्क नगरेको बुझिएको छ । उता, यसबारेमा हेडक्वाटरसँग आन्तरिक कुरा भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दप्रसाद साहले बताउनुभएको छ । 
हिरासतमा रहेको समयमा प्रहरीको यातनाबाटै मृत्यु भएको भन्दै पाथेका–४ का भुदेउ भनिने किरण राईको परिवारले प्रहरी विरुद्ध उजुरी दिएका थिए । उनीहरुले दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तीको माग गरेका छन् । 
ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको समयमा १८ वर्षीय भुदेउ भनिने किरण राईको प्रहरी कुटपिट तथा चरम यातनाकै कारण ज्यान गएको आफन्तको दावी छ । प्रहरीको चरम यातनाकै कारण आफ्नो छोराको ज्यान गएको भन्दै बुबा वुद्धिबहादुर राई र आमा रामलक्ष्मी राईले प्रहरी विरुद्ध उजुरी दिनुभएको थियो । 
प्रहरी हिरासतमा रहेको समयमा गत असार–२६ गते प्रहरीको यातनकै कारण ज्यान गएको  भुदेउका आफन्त रन्जिब राईले बताउनुभएको छ । गत आईतबार परेको उजुरीमा घटनामा संलग्नलाई छानबिनगरि तत्काल कानूनी कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तीको माग गरिएको छ । आफ्नो दोष ढाकछोपकालागि जिल्ला प्रशासन, जिल्ला प्रहरी र अस्पतालको मिलेमतो भइरहेको उनीहरुले आरोप लगाउँदै आउका छन् । 
प्रहरी हिरासतमा रहेको अवस्थामा आँखामा रगत जमेको, अनुहार र हातखुट्टा सुन्निएको, रगत छादेको र पिसाबबाट रगत गएको देखिएका कारण राईको प्रहरीको शारीरिक यातनाबाटै ज्यान गएको पीडितको भनाइ छ । 
यसैबीच, पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिइएका थुनुवाको ज्यान गएको विषयमा जिल्लास्थित राजनैतिक दलहरुले समेत सत्यतथ्य सार्वजनिक गर्न दवाव दिइरहेका छन् । उनीहरुले घटनाका विषयमा यथार्थ छाबिन गर्नुपर्ने र उचित क्षतीपूर्ती दिलाइनु पर्ने पीडितहरुको माग जायज भएको बताउँदै आएका छन् ।