भदौ–११, खोटाङमा पोषिलो मकै–१ जातको सफल परीक्षण भएको कृषि अनुसन्धान केन्द्रले दावी गरेको छ । 
अनुसन्धान केन्द्र पाख्रीबास धनकुटाले जिल्लाका तीन गाविसमा परीक्षणका लागि लगाएको पोषिलो मकै–१ जातको मकैको उत्पादनमा २५–५० प्रतिशतले वृद्धि भएको दावी गरेको छ । 
दुई वर्षदेखि जिल्लाका दिक्तेल, बाम्राङ र खाल्लेमा परीक्षणका लागि लगाएको पोषिलो मकै–१ जातको मकै स्थानीय जातको भन्दा कसिलो फल्ने र हावाहुरीले पनि असर नगर्ने भएकाले प्रभावकारी भएको कृषकहरुको भनाइ छ । जिल्लाको तीन गाविसको ७० घरधुरीका कृषकहरुको बारीमा लगाइएको उक्त मकै स्थानीय जातको भन्दा राम्रो उत्पादन दिने गरेको पाइएको छ । 

जिल्लामा उत्पादन हुने–नहुने यकिन गर्न कृषि अनुसन्धान केन्द्रका प्राविधिकको टोलीले दुई वर्ष लगाएर सदरमुकाम दिक्तेल आसपासका तीन गाविसमा गरेको पोसिलो मकै–१ जातको परीक्षण गरेको थियो । 
आफ्नो प्राविधिकहरुको टोली किसानको घर–घरमा पुगेर पोषिलो मकैको बीउ निशुल्क बितरण गर्दै बीउ छर्न र प्राविधिक विषयमा किसानलाई सहयोग गर्ने गरेको अनुसन्धान केन्द्रका कृषि प्राविधिक अधिकृत विनोद यादवले बताउनुभयो । 
परीक्षणका लागि लगाइएको पोषिलो मकै–१ जातको मकै अन्य जातको मकैको तुलनामा बढि उत्पादन भएको बाम्राङ–६ का रुद्र बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मकैसँगै अन्य नगदेबाली समेत एकै ठाउँमा लगाउन मिल्ने भएकाले यसलाई बिस्तार गर्ने तयारी गरेको छु ।’ 
मकैका साथै सोहीभित्र लगाइएको नगदेबाली समेत उत्तिकै प्रभावकारी देखिएपछि यसलाई आगामी वर्षमा बिस्तार गर्ने तयारी गरेको अर्का कृषक ज्ञानबहादुर हिङमाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष उत्पादन भएको मकै जम्मा गरेर पुरै बारीमा लगाउँछु ।’  
जिल्लामा गरिएको परीक्षण सफल भएसँगै अन्य कृषकहरु समेत यसप्रति आकर्षित भएका छन् । स्थानीय जातको मकैलेभन्दा उक्त मकैले राम्रो उत्पादन दिएपछि अन्य कृषकहरुको पनि माग बढेको फिल्ड प्राविधिक सञ्जय नायकले जानकारी दिनुभयो ।
दुई वर्ष गरेको परीक्षण सफल भएसँगै अनुसन्धान केन्द्रले यसको खेती गर्ने किसानको संख्या ७० बाट बढाएर तीन सय पु¥याउने तयारी गरेको छ । अन्य कोशेबाली तथा नगदेबालीसहित एकैसाथ खेती गर्न सकिने यो जातको मकैलाई क्रमशः जिल्लाका अन्य गाविसमा बिस्तार गरिने अनुसन्धान केन्द्रले जनाएको छ ।
अन्य जातको मकैभन्दा पोसिलो मानिने पोषिलो मकै–१ मा ११.५६ प्रतिशत प्रोटिनको मात्रा पाईन्छ, जवकी स्थानीय अन्य जातको मकैमा ४.५ प्रतिशत मात्र प्रोटिनको मात्रा हुने पहाडी मकैबाली अनुसन्धान परियोजनाका बालीविज्ञ विकास खतिवडाले बताउनुभयो । पोषिलो जातको मकै मानव बाहेक अन्य घरपालुवा पशुपन्छीकालागि पनि पोसिलो मानिएको बालीविज्ञ खतिवडाको भनाइ छ । 
अनुसन्धान केन्द्रले किसानहरुलाई पोसिलो मकै–१ लगाइएको खेतीभित्र एकैसाथ विभिन्न प्रकारका कोशेबाली तथा नगदेबाली लगाउने प्राविधिक सीप पनि सिकाएको छ ।