भदौ–१२, दोश्रो विवाह गरी बेवास्ता गरेको भन्दै खोटाङमा एक महिलाले श्रीमानलाई कारबाहीको माग गरेकी छन् । 
मोरङको बयरबन–४ घर भइ हाल जिल्ला अस्पताल खोटाङमा क्षयरोग रोग सहायक (डिटिएलए) कारुपमा कार्यरत श्रीमान कर्मचन्द्र राजबंशीले दोश्रो विवाह गरेको र बिचल्नी बनाएको भन्दै श्रीमती संगीता राई (राजबंशी)ले उहाँलाई कारबाही गर्न माग गर्नुभएको हो । 
वर्षौँदेखि खान लाउन नदिएको, परिवारलाई बेवास्ता गरेको, धम्की र मानसिक यातना दिएको भन्दै संगीताले मंगलबार महिला तथा बालबालिका कार्यालय खोटाङमा निबेदन पेश गर्दै श्रीमानलाई कारबाही गर्न आग्रह गर्नुभएको छ । 
श्रीमानको बेवास्ताका कारण आफ्नो र चार वर्षीय छोरा निशानको जिबीकोपार्जनमा समस्या भएको तथा भविष्य डामाडोल बनेको भन्दै उजुरी दिनुभएको हो । 
श्रीमानले बेवास्ता गरेपछि जिल्ला अस्पताल दिक्तेलको क्वाटरमा शरण लिएर जिबीकोपार्जन गर्दै आएको संगीताको भनाई छ । श्रीमानको बेवास्ताका कारण पारिवारिक मायाँ ममताकासाथमा खाना, लाउन र बाँच पाउने मानव अधिकारबाट बञ्चित हुनुपरेको राईले दिनुभएको निबेदनमा उल्लेख छ ।
जिल्ला अस्पताल खोटाङमा काम गर्दै आएका राजबंशी अघिल्लो वर्षको भदौ ५ गते काठमाडौं हिँडेको र दोश्रो बिवाह गरी सम्पर्कबिच्छेद बनेर बसेको संगीताको आरोप छ । काठ्माडौं पुगेपछि जिल्ला अस्पताल सोलुमा सरुवा लिएका राजबंशीले टेलीफोन सम्पर्कमा ‘जे गर्छस् गर’ भन्ने गरेको उहाँले बताउनुभयो । 
सोलुमा सरुवा गएदेखि जिल्ला अस्पताल दिक्तेलमा राजबंशीको तलव रोक्काको माग गरेपनि सुनुवाई नभएको संगीताको गुनासो छ । श्रीमानको रमना रोकी कारबाही गर्न र आमा छोराको बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि अनुरोध गर्नुपरेको संगीताले पत्रकारहरुलाई बताउनुभयो । 
उनीहरुबीच २०६५ साल माघ ४ गते विवाह भएको थियो । विवाह भएको केही वर्षपछि उनीहरु छुट्टाछुट्टै बस्दै आएका छन् ।