भदौ–१२, खोटाङमा उद्योग केन्द्र स्थापनाको काम थालिएको छ । ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम अन्तरगत जिल्लामा एउटा उद्योग केन्द्र स्थापनाको काम थालिएको हो ।
नुनथला र दिक्तेलको बीचमा पर्ने वातलमा स्थापना गरिने उद्योग केन्द्रकालागि २५ रोपनी जग्गा जुटाउने काम भइरहेको घरेलु तथा साना उद्योग महासंघ खोटाङका अध्यक्ष रामबहादुर राईले बताउनुभयो ।
जिल्लाका गाउँ–गाउँमा सञ्चालन भइरहेका बिभिन्न प्रकारका घरेलु उद्योगहरुलाई एउटै उद्योग केन्द्रमा केन्द्रीकृत गरिने महासंघका अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुशार केन्द्रमा राडीपाखी, खाँडी, अगरबत्ती, आँप, नासपाती, लिचीको जुस लगायतका उद्योगलाई समाबेस गरिनेछ । ‘जिल्लाका घरेलु उद्योगबाट उत्पादन हुने उत्पादनलाई बजार व्यवस्थापन गर्दै आम्दानी लिनकालागि उद्योग केन्द्रको अवधारणा अघि सारिएको हो ।’ राईले भन्नुभयो ।
जापानबाट नेपाल भित्रिएको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमलाई जिल्लामा प्रभावकारीरुपमा सञ्चालन गर्न सकिए स्थानीय श्रोतसाधनको परिचालन गर्दै स्थानीय स्तरमा रोजगारीको अवशर सिर्जना गर्न सघाउ पुग्ने राईको दावी छ । ‘स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउन पनि उद्योग केन्द्रले सघाउ पुग्नेछ ।’ राईले भन्नुभयो–‘जिल्लालाई संबृद्ध, आत्मनिर्भर बनाउनका लागि पनि एउटा औधोगिक केन्द्र स्थापना अनिवार्य छ ।’
उद्योग केन्द्र स्थापनाको पहलसँगै जिल्लाको उत्तरी क्षेत्रमा कृषि उपजको पकेट क्षेत्र विकास गर्ने काम पनि थालिएको छ । उद्योग र कृषि एक अर्काका परिपूरक भएकाले उद्योग केन्द्र स्थापनासँगै रावा–लोचा, रावा–कल्लेरी र रावा–दुबे खोला पकेट क्षेत्रकोरुपमा कृषि उपज उत्पादन क्षेत्रको विकास गर्न थालिएको महासंघका अध्यक्ष राईले जानकारी दिनुभयो । पहिलो चरणमा रावा–लोचा पकेट क्षेत्रको दुई हजार हेक्टर जमिनमा लिचीको बगैंचा लगाउने काम थालिएको राईले बताउनुभयो ।