भदौ–१२, लुकीछिपी हुने मानव बेचबिखन नियन्त्रण गर्ने उद्देश्यले खोटाङ सदरमुकाम दिक्तेलमा जनचेतनामूलक होर्डिङबोर्ड राखिएको छ ।
जिल्लाका अनपढ र सोझासिधा युवायुवती तथा बालबालिकालाई बिभिन्न प्रलोभनमा परी बेचिनबाट जोगाउनकालागि सदरमुकामको हेलिप्याडमा चेतनामूलक होर्डिङ बोर्ड राखिएको हो ।
समाजमा हुने मानव बेचबिखन नियन्त्रण गर्नकालागि सार्वजनिक स्थल छनौट गरी जनचेतनामूलक होर्डिङ बोर्ड राखिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी कर्मचारी भुवन राईले बताउनु भयो ।
यस्तै अर्खौलेको बिजुलेमा मानव बेचबिखनको बिरुद्धमा सन्देशमुलक होर्डिङबोर्ड राख्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
तराईसँगको यातायात सम्पर्क, शिक्षाको कमी, बेरोजगार लगायतका कारण जिल्लाका युवायुवती तथा बालबालिकाहरु बेचबिखनको जोखिममा रहेको तथ्यलाई ध्यानमा राखेर होर्डिङ बोर्ड राखिएको कर्मचारी राईले बताउनुभयो । 
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट मानव बेचबिखन सम्वन्धी सचेतनामुलक कार्यक्रमका लागि प्राप्त भएको १५ हजारको खर्चमा चेतनामुलक होर्डिङ बोर्ड स्थापना गरिएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।