भदौ–१५, खोटाङमा दुई जग्गादाताले नेपाल नेत्रज्योति संघको सम्मानलाई अस्वीकार गरेका छन् ।
सदरमुकाम दिक्तेलमा आँखा अस्पताल बनाउनका लागि दश वर्षअघि निशुल्क दिइएको जग्गामा हालसम्म आँखा अस्पताल नबनेको भन्दै दिक्तेल १ का जग्गादाता फणिन्द्र खड्का र वीरबहादुर खड्काले सम्मान अस्वीकार गर्नुभएको हो ।
नेत्रज्योति संघले तेश्रो अधिबेशन उद्घाटनका अवसरमा शनिबार जग्गादाताहरुलाई सम्मान गर्ने तयारी गरेको थियो । अधिबेसन उदघाटनका क्रममा सम्मान लिन बोलाइएका जग्गादाताद्वयले आँखा अस्पतालको भवन निर्माण शुरु गर्ने लिखित प्रतिबद्धता आएपछि मात्र सम्मान ग्रहण गर्ने अडान लिएपछि आयोजकले सम्मान कार्यक्रम नै स्थगित गरेको छ ।
सम्मान ग्रहण गर्न मञ्चमा बोलाइएका जग्गादाताहरुले सम्मान लिन अस्वीकार गरेपछि मञ्चमा रहेका अतिथिहरुमाझ खैलाबैला मच्चिएको थियो ।
‘हामीले आँखा अस्पताल बनाउन दिएको जग्गामा अहिलेसम्म अस्पताल बन्दैन भने हामीलाई किन सम्मान चाहियो ?’ जग्गादाता फणिन्द्र खड्काले भन्नुभयो ‘पहिला अस्पताल बनाउनुस् अनि मात्र मात्र सम्मान लिन्छौँ ।’
तत्काल आँखा अस्पताल बनाउने लिखित प्रतिबद्धता आएपछि मात्र सम्मान ग्रहण गर्ने उनीहरुको अडान छ । नेत्रज्योति संघको आग्रहमा उनीहरुले २०६१ सालमा आँखा अस्पताल बनाउने शर्तमा पाँच रोपनी जग्गा निशुल्क दिनुभएको थियो ।
जग्गादाताको सम्मान बहिस्कारलाई आँखा अस्पताल निर्माणका लागि दबाबको रुपमा लिएको नेत्रज्योति संघका सचिव इन्द्र कसजुले बताउनुभयो ।