भदौ–१५, खोटाङको लफ्याङका सर्वसाधारणले जिल्ला अस्पताल दिक्तेलमा काजमा काम गरिरहेका उपस्वास्थ्यचौकी लफ्याङका अहेवलाई फिर्ता पठाउन माग गरेका छन् । 
उनीहरुले अस्पताल प्रशासन समक्ष हाल काजमा जिल्ला अस्पतालमा काम गर्दै आएका उपस्वास्थ्यचौकी लफ्याङका अहेव सुनिल दाहाललाई फिर्ता पठाउन माग गरेका हुन् ।
अहेवको अभावमा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा समस्या आएको भन्दै दाहाललाई फिर्ता पठाउन माग गरिएको स्थानीयवासी एवं एमाले जिल्ला उपाध्यक्ष बबी चाम्लीङले बताउनु भयो ।
उपाध्यक्ष चाम्लीङको नेतृत्वमा गएको स्वास्थ्य सहयोग समितिका पदाधिकारी, सामाजिक परिचालकको टोलीले अस्पतालका प्रमुख डाक्टर नवलकिशोर झालाई भेट गरी काजमा रहेका अहेव दाहाललाई उपस्वास्थ्यचौकीमा फिर्ता पठाउन आग्रह गरेका छन् ।
दुई महिनाअघि अहेव दाहाललाई काजमा अस्पतालमा ल्याइएपछि एक जना अनमी र एक जना ग्रास्वाकाको भरमा उपस्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ ।
टोलीले रेडक्रसको स्थापना दिवसको अवशरमा लफ्याङस्थित युवा रेडक्रस सर्कलले सञ्चालन गर्ने स्वास्थ्य शिबिरका कालागि आवश्यक जनशक्ती र औषधिको व्यवस्था गर्न पनि अस्पताल समक्ष आग्रह गरेको छ । 
आगामी भदौ १९ गते पर्ने रेडक्रस स्थापना दिवसको अवशरमा सर्कलले बालबिकास प्राबि बरडाँडामा विद्यार्थीको स्वास्थ्य परिक्षणकालागि स्वास्थ्य शिबिर सञ्चालन गर्ने तयारी गरेकोछ ।
चाम्लीङ नेतृत्वको टोलीमा स्वास्थ्य सहयोग समितिका सदस्य दिकप्रसाद फुयाँल, सामाजिक परिचालक सन्तोष घिमिरे, ग्रास्वाका लगायतको सहभागीता रहेको थियो ।