भदौ–१५, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक खोटाङले गरेको वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा कार्यक्रममा वितेको ६ महिनामा खोटाङमा १८ महिला पति पीडित भएको तथ्य सार्वजनिक गरेको छ । 
इन्सेक प्रतिनिधी डिएम चाम्लिङले प्रस्तुत गरेको वर्ष पुस्तकको अर्धबार्षिक समिक्षाका लागि तयार पारिएको प्रतिवेदनमा सबै भन्दा धेरै महिलाहरु पतिबाट पीडित भएको घटना पाइएको हो । 
महिलाहरुले पतिबाट अंश नपाएको, कुटपिट गरेको, बहुविवाह गरेको, सामाजिक बहिस्कार गरेको, घर परिवारबाट हेला गरेको, विवाह दर्ता र छोरा÷छोरीहरुको जन्मदर्ता गर्न नमानेको जस्ता मुद्दामा पति विरुद्ध उजुरी परेको तथ्याङ्कमा समावेश गरिएको छ । 
तथ्याङ्क अनुसार अंश नपाएको ४, बहुविवाहको ५, बहिस्कारको ८ , कुटपिटको २ र हत्याको एउटा मुद्दा पति विरुद्ध परेको छ । 
यस्तै वितेको ६ महिनामा ५ जनाको हत्या भएको छ भने, ८ जना माथि निर्घात कुटपिट भएको छ । बलत्कार १, जग्गा कब्जा एक र जन्मदर्ताबाट वञ्चित गराएको भन्दै एउटा मुद्दा प्रहरीमा दर्ता भएको चाम्लिङले सार्वजानिक गरेको तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ ।