भदौ–१७, लघु जलबिद्युत आयोजनाबाट बिद्युत उत्पादन भएपछि खोटाङको उत्तरपूर्बी फेदी गाबिस झिलिमिलि बनेको छ । 
उपभोक्ताको क्रियासिलतामा चार वटा लघुजलबिद्युत अयोजना पूरा भएपछि फेदीका ७३९ घरधुरी झिलिमिली बनेको हो । 
स्थानीय छमुवा र तापखोलाबाट ४० किलोवाट क्षमताको पञ्चमी–छमुवाखोला, ४० किलोवाटकै नोक्ती–तापखोला, ३१ किलोवाटको स्वाँरा–तापखोला र १५ किलोवाटको छमुवा–बर्खे–पिपिङ लघुजलबिद्युत आयोजना पूरा भएपछि गाबिसका सबै घरधुरीमा बिजुली बिस्तार भएको छ । यसमध्ये नोक्ती–तापखोला शुक्रबार मात्र उद्घाटन भएको हो । 
दातृ निकायको सहयोग, इच्छा श

क्ति, श्रम र सामुहिक एकताले मात्र विद्युत उत्पादन सम्भव भएको नोक्ती–तापखोला लघुजलबिद्युत आयोजनाका अध्यक्ष अरुणकुमार राईले बताउनुभयो ।

केन्द्रीय विद्युत प्रशारणलाईनलाई कुरेर बसिरहनुभन्दा छिटो विजुली बाल्न आफै तम्सिइएको राईको भनाई छ । नोक्ती–तापखोला लघुजलबिद्युत आयोजनाकालागि इसाप नेपालबाट ६२ लाख, पञ्चमी–छमुवाकालागि ६० लाख, स्वाँरा–तापखोलाकालागि ५५ लाख तथा कादुरीको एक करोड आर्थिक सहयोगमा छमुवा–बर्खे–पिपिङ लघुजलविद्युत आयोजना पूरा भएको उपभोक्ता समितिले जनाएको छ । गाउँमा बिद्युत बिस्तार भएपछि टिभी हेर्न, रेडियो सुन्न, राईसकुकरमा खाना पकाउन सहज भएको उपभोक्ताको भनाई छ । विद्युतीय राईसकुकरबाट खाना पकाउन थालेपछि खाना पकाउन लाग्ने दाउरा र समयको बचत भएको छमुवा–बर्खे–पिपिङ लघुजलविद्युत आयोजनाका अध्यक्ष ज्ञानकुमार राईले बताउनु भयो ।
बिजुली बल्न थालेसँगै गाउँमा ढिकी, जाँतोको सट्टा कुटानी पिसानीका मिल सञ्चालनमा आएको स्थानिय महिला चन्द्रकुमारी राईको अनुभव छ । 
उत्पादन भएको बिद्युतबाट हाते कागज उद्योग सञ्चालनकालागि सघाउ पुग्ने स्थानीयबासीले बताएका छन् ।