भदौ–१८, खोटाङमा छिमेकी महिलालाई बोक्सीको आरोप लगाउँदै ज्यान मार्ने धम्की दिने दुई पुरुषबिरुद्ध प्रहरीमा उजुरी परेको छ ।
गाउँकै एक महिलालाई बोक्सी भन्दै ज्यान मार्ने धम्की दिएको आरोपमा खाल्ले–८ का ३६ वर्षका नवराज कट्वाल र ६२ वर्षका सार्के कामीबिरुद्ध उजुरी परेको हो ।
गाउँकै एक महिलालाई पटक पटक बोक्सीको आरोपमा सार्वजनिक बेइज्जत गर्ने गरेको तथा गत शनिबार खुकुरी देखाएर ज्यान मार्ने धम्की दिएको भन्दै कट्वाल र कामीबिरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।
कट्वाल र कामीले घरमा समेत बस्न नदिई लखेटेपछि न्यायको लागि जिल्ला प्रहरी कार्यालयसम्म आएको पीडित महिलाले बताएकी छन् । उनले आफ्नो जीउ ज्यानको सुरक्षा तथा शान्ति सुरक्षाको माग गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।
उजुरीको आधारमा आरोपितहरुलाई गिरफ्तार गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।