भदौ–२२, खोटाङमा एक कर्मचारी १० औं निजामति दिवसको अवसरमा पुरस्कृत भएका छन् । 
जिल्ला निर्वाचन कार्यालय खोटाङमा कार्यरत शाखा अधिकृत तेजेन्द्रबहादुर कार्की शनिबार पुरस्कृत भएका हुन् । 
२८ वर्ष निजामति सेवामा बिताएका कार्कीलाई उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै निजामति सेवा दिवस जिल्ला समारोह समितिले पुरस्कृत गरेको हो । कार्कीलाई समितिले नगद सहित दोसल्लाह ओढाएर प्रशंसा पत्र प्रदान गरेको छ । २०४२ सालमा खरिदार पदबाट निजामति सेवा सुरु गरेका शाखा अधिकृत कार्कीले लामो समयसम्म आफ्नो छविलाई उच्च राखेको भन्दै पुरस्कृत गरिएको आयोजकले जनाएको छ । 
सहकारी विभाग अन्तरगत तत्कालिन साझा विकास शाखा धनुषाबाट आफ्नो निजामति सेवा थालेका कार्कीले पाँच जिल्लाका विभिन्न कार्यालयमा कार्य सम्पादन गरिसकेका छन् ।
२०५३ सालमा नायव सुब्बामा बढुवा भएका कार्की कार्य सम्पादन तथा कार्यअनुभवकै आधारमा २०६६ सालमा शाखा अधिकृतमा बढुवा भएका थिए । उहाँले यो अवधिमा जिल्ला निर्वाचन कार्यलय उदयपुर र खोटाङमा ५ वर्ष कार्यालय प्रमुखको काम गरि सक्नुभएको छ । 
निजामति दिवसको अवसरमा जिल्लाकै उत्कृष्ठ कर्मचारी छनोटमा परेका जिल्ला निर्वाचन कार्यालय खोटाङका शाखा अधिकृत तेजेन्द्रबहादुर कार्कीलाई प्रशंसापत्र सहित नगद पुरस्कार प्रदान गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल । तस्वीर: केदार मगर 
खोटाङको हौंचुर–५ मा जन्मिएका कार्की हाल उदयपुरको त्रियुगा नगरपालिका–२ संगमटोलमा बसोवास गर्दै आउनुभएको छ । सम्मानित कार्कीले निजामति सेवासंगै साहित्यीक क्षेत्रमा पनि उतिकै चर्चा कमाउनुभएको छ । 
उहाँले हाम्रो साझा सवाल र त्यसको उत्तरहरु, जनविद्रोह अघि र पछि रुमलिएका ज्वालाहरु र ती एउटी खोटाङ्गे युवती नामक उपन्यास समेत प्रकाशनमा ल्याउनुभएको छ ।