भदौ–२६, खोटाङको नुनथला–कुभिण्डे सहरी विकास सडक शिलान्यास गरिएको छ । 
मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडक खण्ड अन्तरगत नुनथलाबाट उत्तरी गाविस कुभिण्डे जोड्ने सहरी विकास सडक शिलान्यास गरिएको हो । 
राष्ट्रिय योजना आयोग, जिल्ला विकास समिति र आरआरएनको आर्थिक सहयोगमा निर्माण शुरु गरिएको ९ किलो मिटर लामो सडक आगामी माघ सम्ममा पूरा गरिने सडक निर्माण उपभोक्ता समितिले जनाएको छ । 
जिल्ला विकास समिति र आरआरएनको निशुल्क प्राविधिक सहयोगमा निर्माण शुरु गरिएको सडककालागि राष्ट्रिय योजना आयोगबाट ११ लाख आर्थिक सहयोग प्राप्त भएको छ । 
यस्तै, आरआरएनले सो सडकको दुई किलोमिटर खण्ड निर्माण गरिदिने भएको सडक निर्माण उपभोक्ता समितिका उपाध्यक्ष दिपक ठटालले जानकारी दिनुभयो । 
गाउँमा सडकको पहुँच बिस्तार गर्ने लक्ष्यका साथ थालिएको सडक कुटो, कोदालो, ह्याम्मर, गैंती लगायतका घरेलु उपकरणको प्रयोग गरी निर्माण भइरहेको छ । सडक निर्माण कार्यमा पाँच समुहमा आवद्ध कामदारहरु सहभागी बनेका छन् । 
सडक पूरा गर्नकालागि दशैं र तिहारकोबीचमा श्रम शिविर पनि सञ्चालनको तयारी गरिएको उपाध्यक्ष ठटालले बताउनुभयो ।