भदौ–२८, कम्पनीले सम्झौता अनुशारको काम र तलव नदिएको भन्दै मलेसियाबाट खोटाङका एक व्यक्ति स्वदेश फर्किएका छन् । 
कार्यरत कम्पनीले सम्झौता अनुशारको काममा नलगाएको र मासिक तलव नदिएको भन्दै खोटाङको नेर्पा–६ का कृष्णप्रसाद रिजाल स्वदेश फर्किएका हुन् । 
सम्झौता अनुशारको मासिक तलव पाउनबाट बञ्चित गराएको र तोकिएभन्दा फरक काममा लगाएका कारण मलेसिया पुुगेको तीन महिनामै काम छाडेर घर फर्किएको बिहिबार काठमाडौं आइपुगेका रिजालले बताउनुभयो । मासिक ९ सय रिंगेट पाउने शर्तमा काठ्माडौंको ईन्टरनेशनल मेनपावर मार्फत मलेसियाको टिएसएल एसेम्ब्ली कम्पनीमा पुगेका रिजाललाई कम्पनीले मासिक ६ सय रिंगेट मात्र दिएको थियो । 
मेनपावरले सम्झौता अनुशारको काम र दाम पाउनबाट बञ्चित गराएर ठगी गरेको भन्दै रिजालको उद्धारकालागि बुवा देबनाथ रिजालले सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङ समक्ष निबेदन दिनु भएको थियो । रिजालका अनुशार कम्पनीले मासिक २ सय ८ रिंगेट ट्याक्स र ५० रुपैयाँ रिंगेट बिजुलीपानीको नाममा तलव कटाउने गरेको थियो ।
रिजालले सम्झौता अनुशारको तलव नपाएको, सम्झौता विपरितको काममा लगाएको र काम गर्नेक्रममा दाहिने हातको बुढी औंलाको नङ झरेको भन्दै तत्काल उद्धारकालागि आग्रह गरेका थिए । पिपुल्स फोरमको सहयोगमा उद्धार गरिएका रिजालले स्वदेश फर्किएलगत्तै पिपुल्स फोरममार्फत नै क्षतीपुर्तीकालागि मेनपावरबिरुद्ध मुद्धा हाल्ने तयारी गर्नु भएको सुचना केन्द्रका कार्यक्रम संयोजक नबिन्द्र राईले जानकारी दिनुभयो । 
नाताले दाई पर्ने नारायणप्रसाद रिजालमार्फत कृष्णप्रसाद गत जेठ–२६ गते मलेसिया पुग्नुभएको थियो । जनरल वर्करकालागि लगिएका रिजाललाई सम्झौता बिपरित सामान उठाउने काममा लगाएको सुचना केन्द्रले जनाएको छ । मलेसिया जाँदा अधिकतम ८० हजार रकम बुझाउनुपर्नेमा रिजालले १ लाख ३५ हजार बुझाउनु भएको रिजाल परिवारले बताएका छन् ।