भदौ–३०, स्थापनामा चासो नदिइदा खोटाङमा लैनसिं बाङ्देलको शालिक अलपत्र बनेको छ ।
जिल्लाको सार्वजनिकस्थलमा राख्नेगरी तीन वर्षअघि मोरङ बेलबारीका मुर्तीकार श्याम गौतमले बनाएर दिएको साहित्यकार एवं कलाकार बाङ्देलको ढुंगे शालिक पदस्थापनमा ध्यान नपुग्दा अलपत्र बनेको हो । 
स्थापना नगरिएपछि खोटाङ सदरमुकाम दिक्तेलको एउटा पशलमा अलपत्र अवस्थामा लैनसिं बांदेलको अर्धकद शालिक । तस्बिर: केदार मगर
गौतमले २०६७ सालमा बाङ्देल बाहेक हलेसीमा राख्नेगरी एउटा शिवलिङ्ग र बसाहाको ढुंगेमुर्ती जिल्ला विकास समितिलाई निशुल्क हस्तान्तरण गरेका थिए । बांदेलको अर्धकद शालिक तीन वर्षअघिदेखि सदरमुकाम दिक्तेलको एउटा पशलमा राखिएको छ, भने बसाहा र शिवलिङ्गको मुर्ती सदरमुकामकै माता मन्दिरमा राखिएको छ । 
मुर्तीकार गौतमले जिल्लाका विशेष सार्वजनिक व्यक्तित्वकोरुपमा बाङ्देलको शालिक बनाएर पायक पर्ने सार्वजनिक स्थानमा राख्नका लागि दिएका थिए । जिल्लासम्म शालिक ल्याउनेक्रममा जिल्ला विकास समितिले गौतमलाई ३० हजार भाडा दिएको थियो ।
नाछिरिङ राई थर भएका लैनसिं बांदेलको पुर्खौली थलो खोटाङको उत्तरी गाबिस राखाबाङ्देल हो । बाङ्देलको शालिक सदरमुकाम दिक्तेलको रत्नपार्कमा राख्ने तयारी गरिएको भएपनि स्थानीयबासीको असहमतीका कारण हालसम्म मुर्ती राख्न नसकिएको जिल्ला विकास समितिका कर्मचारी माधव आचार्यले बताउनुभयो ।
उतीबेला जिल्ला विकास समिति तथा जिल्लास्थित राजनैतिक दलका नेताहरुले द्धन्द्ध कालमा ध्वस्त बनाइएको रानी रत्न राज्यलक्ष्मी शाहको शालिक आसपासमा बाङ्देलको मुर्ती राख्ने निर्णय गरेका थिए । 
यसैबीच, तीन वर्ष बितिसक्दा समेत शालिक स्थापना गर्न नसकिएको भन्दै मुर्तीकार गौतमले बाङ्देल लगायतको शालिक फिर्ता लाने बताएका छन् । 
अलपत्र शालिकहरुलाई धनकुटाको राजारानीस्थित चट्टानको पहरा खोपेर बनाइने घरमा लगेर राख्ने तयारी गरिएको गौतमले बताउनुभयो । ‘तीन वर्ष बितिसक्दा समेत शालिक स्थापना हुन नसकेको सुन्दा दुःख लागेको छ ।’ गौतमले टेलीफोन सम्पर्कमा भन्नुभयो,–‘अव शालिक फिर्ता लैजान्छु र धनकुटाको राजारानीमा राख्ने छु ।’ 
उता, राखाबांदेलका नाछिरिङ राईका अगुवाहरुले पनि अलपत्र बनेको बांदेलको शालिक आफ्नो गाउँमा लगेर राख्ने बताउन थालेका छन् । बाङ्देल पनि नाछिरिङ राई भएका कारण उनीहरुले बांदेलको शालिक आफ्नो गाउँमा लैजाने बताउन थालेका हुन् । 
जिल्ला विकास समितिले तत्काल शालिक स्थापनाको पहल नगरे आफ्नै गाउँमा लगेर शालिक राख्ने राखाका गृहकुमार राईले बताउनुभयो । ‘अव बाङ्देलको शालिक उठाएर गाउँ लैजान्छौँ ।’ राईले भन्नुभयो,–‘हाम्रो साझा सम्पत्ती यसरी अलपत्र परिरहन दिनु हुँदैन ।’