भदौ–३१, खोटाङमा एक शिक्षकले आफ्नै छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै कानूनी कारबाहीको माग गरेका छन् । 
छोरम्बुस्थित शान्तिनिकेतन मीनाकर्ण माविमा कार्यरत शिक्षक रामप्रकाश मण्डलले कक्षा–७ मा अध्ययनरत एक छात्रामाथि अभद्र व्यवहार गरेपछि अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीले कानूनी कारबाहीको माग गर्दै जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका हुन् ।
गत असार–१२ गते विद्यालय समयमा एक छात्रालाई अभद्र व्यवहार गरेर विद्यालयमा अनुपस्थित भएका शिक्षक मण्डल हालसम्म पनि हाजिर हुन नआएपछि कारबाहीको माग गर्दै उजुरी हालिएको प्रधानाध्यापक कृष्ण बस्नेतले बताउनुभयो । 
अभद्र व्यवहार गरेपछि दुई महिनादेखि बिना जानकारी विद्यालयमा अनुपस्थित बनेका शिक्षक मण्डललाई शिक्षा नियमावलीअनुसार कारबाहीको माग गर्दै शिक्षा कार्यालयमा उजुरी हालिएको प्रधानाध्यापक बस्नेतको भनाइ छ । उहाँले भन्नुभयो, ‘अभद्र व्यवहार गर्नमा संलग्न शिक्षक मण्डललाई यसअघि पनि पटक–पटक सजक गराइएको थियो ।’ उहाँले थप्नुभयो, ‘शिक्षक मण्डलले विद्यार्थीमाथि मात्र हैन, गाउँका सोझासिधा युवतीहरुलाई समेत अनैतिक व्यवहार गर्ने गरेका थिए ।’ 
सिराहा जिल्लाको गोलबजार–७ घर भएका शिक्षक मण्डलले भने, छोरम्बु–६ की सुनिता राईसँग आफूले विवाह गरेपछि चरित्र हत्या गर्नका लागि यस्तो आरोप लगाएको बताउनुभयो । 
उहाँले असार–१६ गते २२ वर्षीया सुनिता राईसँग दोश्रो विवाह गरेका हुन् । चार सन्तानका बाबु मण्डल दश वर्षदेखि त्यस विद्यालयमा कार्यरत निम्न माध्यमिक तहका शिक्षक हुन् । 
यता, जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले भने, सत्यतथ्य बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । उजुरी परेसँगै शिक्षक मण्डललाई कार्यालयमा झिकाएर स्पष्टीकरण सोधिएको जिशिअ घिमिरेले जानकारी दिनुभयो ।