असोज–१, खोटाङमा आयोजना गरिएको अन्तरमाविस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा दिक्तेल ईङ्ग्लिस आवासीय उच्च मावि उत्कृष्ट भएको छ । 
राष्ट्रिय विज्ञान दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय खोटाङले मंगलबार आयोजना गरेको विज्ञान प्रदर्शनी प्रतियोगितामा उक्त मावि उत्कृष्ट भएको हो । 
प्रतियोगितामा दिक्तेल ईङ्ग्लिस आवासीय उच्च माविले विद्युतीय ट्रली बस, टाइम बम, लिफ्ट, चुम्बक, बाढी सुचक यन्त्र, पानीजहाज लगायतका उपकरणहरु प्रदर्शन गरेका थिए । 
यस्तै, पञ्च मावि दिक्तेलले विद्युतीय हेलीकोप्टर, शितला मावि खाल्लेले हाइड्रोजन ग्याँस, क्वीज बोर्ड, चुम्बक प्रदर्शन गरेर देखाएका थिए भने, श्रीमावि बाँसबोटे लफ्याङले विद्युतीय टुकी प्रदर्शनी गरेर देखाएका थिए । 
श्रोतसाधनको अभावका बावजुद पनि विद्यार्थीले स्थानीय श्रोतसधानको उपयोग गरी प्रदर्शनीमा उत्साहकासाथ भाग लिएका थिए । दिवसको अवसरमा जिल्लाका सामुदायीक तथा संस्थागत विद्यालयका उत्कृष्ट विज्ञान शिक्षक र विद्यार्थीहरु पुरस्कृत भएका छन् । 
सामुदायीक विद्यालयतर्फ पञ्च माविका शिक्षक रत्न चौलागाई र संस्थागततर्फ दिक्तेल ईङ्ग्लिस आवासिय उच्च माविका चिरञ्जीबि वन उत्कृष्ट विज्ञान शिक्षककारुपमा पुरस्कृत हुनुभएको छ । शिक्षकद्धयलाई जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । 
यस्तै, विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने पञ्च माविका छात्र बोलराज गिरी, दिक्तेल ईङ्ग्लिस आवासिय उच्च माविका सबिन भट्टराई, योगेश राई र नेसिना गिरी पनि पुरस्कृत हुनुभएको छ । विज्ञान प्रदर्शनीलाई जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, श्रोतव्यक्ती, शिक्षक, विद्यार्थीले अवलोकन गरेका थिए ।