असोज–३, संविधानसभाको दोश्रो निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले म्यादी प्रहरीको भर्ना लिन थालेको छ । 
संविधानसभाको निर्वाचनका समयमा सुरक्षाकालागि खटाइने म्यादी प्रहरीको भर्ना बिहीबारदेखि लिन थालेको हो । 
आगामी असोज १५ गतेसम्म लिइने आबेदनमार्फत करिब चार सय म्यादी प्रहरी छनौट गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । 
१८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, सामान्य लेखपढ भएको, कुनै राजनीतिक दलसँग आवद्ध नभएको, शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फौजदारी अभियोगमा कसुरदार नठहरिएका आवेदकले जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सक्ने प्रहरीले जनाएको छ । तर भूतपुर्व सेना वा प्रहरी भए ५५ वर्ष ननाघेका नागरिकले पनि म्यादी प्रहरीकालागि आवेदन दिने सक्नेछन् । 
म्यादी प्रहरीमा छनौट भएकाहरुलाई १५ दिने सुरक्षा व्यवहार सम्बन्धी तालिम तथा नेपाल प्रहरीको प्रहरी जवान सरह तलब, पोशाक र राशन उपलब्ध हुने प्रहरी निरिक्षक रेग्मीले बताउन भयो । 
यसैबीच, संविधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत लिएर राखिएका हतियारहरु निर्वाचन सम्पन्न नभएसम्मका लागि बुझाउन आग्रह गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि प्रशासनले इजाजत लिएर राखिएका हतियारहरु प्रशासन, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीसमक्ष बुझाउन आग्रह गरेको हो ।
हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम प्रशासनले ६ गतेभित्र हतियार बुझाउन भनेको छ । बुझाइएको हतियार निर्वाचनको परिणाम घोषणा भएको सात दिनभित्र सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने प्रशासनले जनाएको छ ।