असोज । खोटाङका तीन स्थानमा एकैसाथ मतदाता शिक्षा तालिम शुरु भएको छ । गाविसका सामाजिक परिचालक, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेविकालाई सहभागी गराएर हलेसी, बाक्सिला र दिक्तेलमा एकैसाथ मतदाता शिक्षा तालिम शुरु गरिएको हो ।

तालिममा सहभागी मतदाता शिक्षा स्वयंसेवकहरुलाई सही मतदान गर्ने विधि, प्रत्येक मतदातालाई निर्वाचनमा सहभागीताका लागि ‘कन्भिन्स’ गर्न, निमन्त्रणा कार्ड पठाउने लगायतका विषयमा प्रशिक्षित गराइने जिल्ला निर्वाचन कार्यालय खोटाङका जिल्ला निर्वाचन अधिकारी श्रीकुमार राईले जानकारी दिनुभयो । दुई दिनको तालिम लिएपछि ६० दिनसम्म उनीहरुले मतदाता शिक्षाका क्षेत्रमा काम गर्ने छन् ।

असोज १२ गते खोटाङबजार, १३ गते सछितापोखरी, चिसापानी र ऐसेलुखर्कमा १५ गतेबाट तालिम सञ्चालन हुँदैछन् । जिल्ला निर्वाचन अधिकारी राईका अनुशार असोज १६ गतेभित्र मतदाता शिक्षा तालिम सञ्चालन गरिनेछन् । मतदाता शिक्षा तालिम सञ्चालनकालागि १५ जना निर्वाचन कार्यकर्ताहरु गाउँ गाउँमा खटिएका छन् ।

यस्तै, जिल्लामा एक दिनको मतदाता शिक्षा अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन हुँदैछन् । अभिमुखीकरणमा ७६ गाबिस सचिव र १३२ जना मतदान केन्द्रका प्रधानाध्यपकहरु प्रशिक्षित गराइने निर्वाचन अधिकारी राईले बताउनुभयो । असोज १३ गते हलेसी, बाक्सिला र दिक्तेलमा, १४ गते खोटाङबजार, १५ गते सछितापोखरी र १७ गते चिसापानी तथा ऐसेलुखर्कमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ ।