असोज –  १५, एमाले केन्द्रीय कमिटिले योग्य उम्मेदवारलाई टिकट नदिएको भन्दै खोटाङका एमाले निकट भातृ संगठन तथा जनवर्गीय संगठनहरुले बिरोध जनाएका छन् ।
एमाले स्थायी कमिटिले संविधानसभा निर्वाचनकालागि क्षेत्र नं. १ बाट राजन राईलाई उम्मेदवारी दिनुको सट्टा पाँचकर्ण राई (पिके)लाई उम्मेदवारी दिएकोप्रति ७ वटा भातृ संगठनहरुले संयुक्तरुपमा आक्रोश जनाएका हुन् ।
केन्द्रीय कमिटिले योग्य र इमान्दार नेतालाई उम्मेदवारी नदिइएको विरोधमा जिल्लास्थित युवा संघ, अनेरास्ववियू, जिफन्ट, नेपाल उत्पीडित जातीय मुक्ति समाज, प्रेस चौतारी नेपाल लगायतका संगठनहरुले निर्णय सच्याउन माग गर्दै मंगलबार केन्द्रीय कार्यालयसमक्ष ध्यानाकर्षण पत्र पठाएको छ । उनीहरुले केन्द्रले आफ्नो निर्णय नसच्याए जिल्लाका नेता तथा कार्यकर्ता सो निर्णयको विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
७ संगठनहरुले क्षेत्र नं. १ का ३९ वटै गाविसका कार्यकर्ताले रुचाएको ‘राजनलाई टिकट नदिनु पार्टीका इमान्दार कार्यकर्तामाथि विश्वासघात गर्नु हो’ भनेका छन् । उनीहरुले राजनलाई उम्मेदवारी नदिए पार्टीकै विरुद्धमा उत्रने र सो विद्रोहबाट पार्टीलाई पर्न जाने क्षतीको जिम्मेवारी स्थायी कमिटिले लिनुपर्ने चेतावनी दिएको अनेरास्वबियूका जिल्ला अध्यक्ष मिलन राईले बताउनु भयो । 
युवा संघका जिल्ला अध्यक्ष प्रमोद श्रेष्ठ, अनेरास्ववियूका अध्यक्ष मिलन राई, जिफन्टका अध्यक्ष युवराज पोखरेल, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष दिपक ठटाल, प्रेस चौतारीका अध्यक्ष हरिवोल आचार्य लागायतले निर्णय सच्याउन केन्द्रीय कमिटि समक्ष माग गरेका छन् । उनीहरुले क्षेत्र नं. १ का सवै गाउँ कमिटि र ८ इलाका कमिटिले समेत केन्द्रले गरेको निर्णयप्रति असहमति जनाएको उल्लेख गरेका छन् ।