खोटाङ, कात्तिक । किरात जनवादी वर्कर्स पार्टीले खोटाङको दक्षिणी क्षेत्रका विद्यालयका शिक्षकहरुलाई चन्दा दिन उर्दी गरेको छ ।

किरात स्वयत्त राज्यको माग गर्दै पुर्वी नेपालको पहाडी जिल्लामा भूमीगतरुपमा सशस्त्र संघर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले जिल्लाको बोपुङ, डम्बर्खुशिवालय, काहुले, देविस्थान, चिसापानी, मौवाबोटे, पौवासेरा, दिप्लुङ लगायतका बिद्यालयका शिक्षकहरुलाई चन्दा दिनकालागि उर्दी गरेको हो ।

शिक्षकहरुका अनुशार वर्कर्सका कार्यकर्ता बताउने परिवर्तन किरातीले प्रतिशिक्षक ६ हजारदेखि २० हजारका दरले चन्दा दिन विद्यालयमा पत्राचार गरेको छ । ‘जनसहयोग’ भन्दै चन्दा माग्न थालिएपछि शिक्षकहरू आतंकित बनेका छन् ।

उद्यपी, त्रासका कारण शिक्षकहरुले भूमीगत समुहको नाममा चन्दा माग गरिएको विषयमा खुलेर भन्न सकेका छैनन् । शिक्षकहरुबाट चन्दा मागिएको विषयमा आफुहरुलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताउनुभयो ।

पुर्वी नेपालको खोटाङ, भोजपुर, ओखलढुंगा, सुनसरी लगायतका जिल्लामा भूमीगत संघर्ष गर्दै आएको वर्कर्सले केही वर्षअघिदेखि जिल्लामा चन्दा आतंक मच्याउँदै आएको छ । प्रायः पहाडी जिल्लालाई आधार क्षेत्र बनाएर संघर्ष गर्दै आएको वर्कर्स र सरकारबीच पटक पटक पाँच चरणको वार्ता भइसकेको छ ।