खोटाङ, कार्तिक – खोटाङको बाकाचोलस्थित जालपा माबि बादेलमा कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएको छ ।

बादेल नेपाल फ्रान्सकी अध्यक्ष जानेक मुहायरको आर्थिक सहयोगमा बिकट गाउँको विद्यालयमा कम्युटर कक्षा सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गाबिसमा सञ्चालित प्रस्ताबित माबिमा ३ वटा कम्प्युटर र एक वटा फोटोकपी मेसिन सञ्चालनमा ल्याइएको प्रस्ताबित जालपा माबि सरोकार समितिका अध्यक्ष टिकाराम पुरीले जानकारी दिनुभयो ।

गाउँमा पहिलोपल्ट सञ्चालनमा ल्याइएको कम्पयुटर हेर्नका लागि स्थानीयबासिन्दाको भीड लागेको थियो । कम्युटर शिक्षाको बिकासकालागि कम्युटर कक्षाको व्यवस्था मिलाइएको मुहायरले दोभाषेको सहयोगमा बताउनुभयो ।

भ्रमणका सिलसिलामा सन् २००९ मा पहिलोपल्ट बादेलमा आइपुगेकी मुहायरले ‘ठूला विद्यार्थी बेञ्चमा र साना विद्यार्थी भुईमा’ बसेको देखेपछि विद्यालयमा फर्नीचरको व्यवस्थापन गरेर फर्कनु भएको थियो ।

मुहायरको १० हजार रुपैयाँ आर्थिक सहयोगमा साना कक्षाका विद्यार्थीकालागि डेस्क र बेञ्च निर्माण गरिएको थियो । बादेल भ्रमणपछि फ्रान्स फर्किएका मुहायरले बादेल नेपाल नामक संस्था स्थापना गरी विद्यालयलाई सहयोग गर्दै आएको शिक्षिका तिलाकुमारी पुरीले बताउनुभयो । यसअघि उहाँले विद्यालयको भवन निर्माणका साथै छाना हाल्न सहयोग गरिसक्नु भएको छ । मुहायर सहयोगीका साथमा हालसम्म ७ पटक बादेलमा आईसक्नु भएको छ ।