खोटाङ– संविधानसभाको दोश्रो चुनावका लागि खोटाङका दुई निर्वाचन क्षेत्रमा क्याप्टेनको नेतृत्व साढे चार सय नेपाली सेना परिचालित भएका छन्। मतदानस्थलको बाहिरी सुरक्षा गर्ने जिम्मेवारीसहित सेनालाई जिल्लाका चार ठाउँमा राखेर परिचालनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए। उनका अनुसार क्षेत्र नम्बर १ को ऐसेलुखर्क बेस क्याम्प र मुडे ब्यारेक तथा क्षेत्र २ मा थामखर्क विमानस्थल र बाँझेच्यानडाँडामा सेना राखिएको छ।

सेनाले लामिडाँडा विमानस्थल र जिल्ला कारागारको सुरक्षा जिम्मेवारीसमेत पाएको छ। सुरुमा सेनाले जिल्लालाई घेराबन्दी गर्दै जाने र चुनावको केही दिनअघि देखि प्रत्येक मतदानस्थलको बाहिरी सुरक्षामा खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ।

प्रजिअ नेपालका अनुसार मतदानस्थलको भित्री सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी गरी ९ सय सुरक्षाकर्मी परिचालित हुनेछन्। सशस्त्र प्रहरीले भने निर्वाचन कार्यालयको मात्रै सुरक्षा गर्नेछ । – नागरिक