कात्तिक ११ ।  कोष तथा लेखा नियन्त्रण कार्यालय खोटाङले बिना इजाजतपत्र मदिराजन्य तथा सूर्तिजन्य पदार्थ बिक्रीबितरण गर्ने व्यापारीहरुलाई कानूनी दायारामा ल्याउने भएको छ । कोलेनिका खोटाङले अनुगमनका क्रममा बिना इजाजतपत्र खुल्लारुपमा मदिराजन्य तथा सुर्तिजन्य पदार्थ विक्रीवितरण भईरहेको पाइएकाले उनीहरुलाई कानूनी दायरामा ल्याउने बताएको हो ।

जिल्लाका केही व्यापारी तथा फर्मले समेत नविकरण नगरी यस्तो कारोवार गरिरहेको भेटिएकाले उनीहरुलाई कडा कारबाही गरिने कोलेनिका खोटाङका प्रमुख तुलसीराम बस्नेतले  बताउनुभयो । उहाँका अनुसार कोलेनिकामा दर्ता गरेर कारोबार गर्ने एक सय ८९ व्यापारी तथा र्फममध्ये ५८ वटाको नविकरण हुन बाँकी रहेको छ ।

बिना इजाजत मदिराजन्य तथा सुर्तिजन्य पदार्थ विक्रीवितरण गरेको पाईएमा मदिरा ऐन २०३१, मदिरा सम्बन्धि नियमहरु २०३३ अनुसार तथा प्रचलित कानून बमोजिम कार्यबाहीको प्रकृया अगाडी बढाइने समेत जानकारी दिनुभयो । अवैधरुपमा यस्ता कारोबार गर्नेलाई अनुगमनका क्रममा भेटिएमा तत्काल  पाँच हजार रुपैयाँदेखि  १५ हजार रुपैयासम्म जरिवाना लिन सकिने तथा थप कारबाही अगाडी बढाउन सकिने कानुनी व्यवस्था छ ।