कात्तिक–२३, वर्षाका कारण अवरुद्ध दिक्तेल–जयरामघाट सडक खण्ड सडक मर्मत गरिएसँगै यातायात सेवा सञ्चालनमा आएको छ । 
भलबाढीले बनाएको खाल्डाखुल्डी पुर्नुका साथै मर्मत गरिएपछि मध्य पहाडि लोक मार्ग अन्तर्गत दिक्तेल–जयरामघाट सडक खण्डमा सिधा यातायात सेवा सञ्चालनमा आएको हो । 
वर्षाका कारण पाँच महिनादेखि अवरुद्ध सडक खण्डको सदरमुकाम दिक्तेलस्थित जिरो प्वाइन्टदेखि मर्मत गर्नुका साथै वर्षा रोकिएपछि सिधा यातायात सेवा सञ्चालनमा ल्याइएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष विदुर लुईटेलले बताउनुभयो । सडक विभागको आर्थिक सहयोगमा ४२ किलो मिटर लामो उक्त सडक खण्ड मर्मत गरिएको अध्यक्ष लुईटेलले जानकारी दिनुभयो ।
तराईसँग सिधा यातायात सेवा जोडिएको उक्त सडक खण्डमा सवारी साधन आवत–जावत शुरु भएसँगै सर्वसाधारणलाई सहज भएको छ । सिधा यातायात सेवा शुरु भएपछि जिल्लामा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न तथा यात्रुहरुलाई आवत–जावत गर्न समेत सहज भएको यातायात व्यवसायी संघले जनाएको छ । 
यसअघि जयरामघाटदेखि सदरमुकाम दिक्तेलसम्म आउने तथा बाहिर जाने यात्रुहरुले दुई घण्टासम्म हिँड्नुपर्ने बाध्यता थियो । सडक मर्मतसँगै सर्वसाधारणको समस्या हल भएको खोटाङ यातायात व्यवसायी संघले जनाएको छ ।