कात्तिक २८ । निर्वाचनलाई लक्षित गर्दै खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा हवाई उडान भर्न थालिएको छ । वर्षाको भलबाढीले धावन मार्ग खाल्डाखुल्डी पार्नुका साथै कालोपत्रेको काम थालिएपछि गत असार–१५ देखि उडान बन्द गरिएको विमानस्थलमा हप्ताको एक पटक उडान भर्न थालिएको हो ।

आगामी मंसिर–४ गते तोकिएको संविधानसभाको दोश्रो निर्वाचन नजिकिएसँगै बाहिरबाट जिल्ला भित्रने सर्वसाधारणको चाप बढेकाले तत्कालका लागि हप्तामा नेपाल वायु सेवा निगमको एकवटा फ्लाईट राखिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हप्तामा एक पटक भएपनि सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर उढान भर्न थालेका हौं ।’

भलबाढीले धावन मार्ग अवरुद्ध बनाएपछि मर्मत तथा संभार गर्नुका साथै कालोपत्रेको काम भइरहे पनि तत्कालका लागि निर्माण कार्यलाई अवरुद्ध नगर्नेगरी उडान शुरु गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने विमानस्थलमा उडान शुरु भएसँगै बाहिरबाट जिल्ला भित्रने सर्वसाधारणलाई केही सहज भएको छ ।

जिल्लाका तीन वटा विमानस्थलहरुमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा उडान शुरु भएपछि जिल्ला भित्रने सर्वसाधारणको लर्को लाग्ने गरेको टिकेट एजेन्सीहरुले बताएका छन् । उनीहरु भन्छन्, ‘हप्तामा एक चोटी फ्लाईट राखिदिएकाले सर्वसाधारणको चित्त बुझाउन गाह्रो भएको छ ।’

जिल्लाका सबैभन्दा नजिक रहेको विमानस्थलबाट उडान शुरु भएसँगै जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएका विरामीहरुका लागि पनि केही सहज भएको उपभोक्ताहरुको भनाइ छ । यसअघि विमानस्थलमा उडान बन्द हुँदा चर्को मुल्य तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता थियोे ।

जिल्लाका लामीडाँडा र थामखर्क विमानस्थल सदरमुकाम दिक्तेलदेखि टाढा भएपछि जिल्लामा दैनिकजसो हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । उपचार गराउन जिल्ला अस्पताल आउने सामान्यदेखि जटिल किसिमका बिरामीलाई अस्पतालले रेफर गरिदिएपछि एक लाख २० हजारदेखि एक लाख ५० हजारसम्ममा हेलिकोप्टर चार्टर गर्ने गरिन्छ ।