मंसिर १, खोटाङको दक्षिणी गाविसस्थित एक विद्यालयमा बम फेला परेको छ । स–छितापोखरी–३ स्थित पञ्चमी प्रावि पञ्चमीबजारमा शुक्रबार बम फेला परेको हो ।
विद्यालय परिसरमा १० मिटर लामो तार सहितको बम फेला परेको प्रहरीले जनाएको छ । सदरमुकाम दिक्तेलदेखि १० कोश दक्षिणी क्षेत्रमा पर्ने विद्यालयमा भेटिएको बम डिस्पोज गर्नका लागि दिक्तेलस्थित जबरजंग गण मुढे ब्यारेकबाट नेपाली सेनाको बम डिस्पोजल टोली प्रस्थान गरेको छ ।
स्थानीयबासीले विद्यालय परिसरमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षण दुर्गा रेग्मीले जानकारी दिनुभयो । अहिलेसम्म विद्यालयमा बम राख्नेको विषयमा केही खुल्न सकेको छैन ।
निर्वाचनको विरोधमा गतिविधि सञ्चालन गर्दै आएको नेकपा–माओवादीले विद्यालयमा बम राखेको हुनसक्ने प्रहरीको भनाइ छ । नेकपा–माओवादी खोटाङका इञ्चार्ज ध्रुव बुढाथोकी ‘धिरण’ले भने, आफ्नो पार्टीले बम नराखेको दावी गर्नुभएको छ ।