मंसिर १, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले आगामी संविधानसभाको निर्वाचनमा पहिचान विरोधीहरू परास्त हुने बताउनुभएको छ ।

दिक्तेलमा शुक्रबार आयोजित चुनावीसभालाई संबोधन गर्दै उहाँले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका पहिचान विरोधी र पहिचानको कुरा गर्ने तर, कार्यान्वयन नगर्ने एकीकृत नेकपा माओवादीलाई जनताले चुनावमा हराउने दावी गर्नुभयो ।
एकीकृत नेकपा माओवादी सबैभन्दा ठूलो दल बनेपनि जनतालाई संविधान दिन नचाहेको राईले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अरुलाई हे¥यौ पटक–पटक, माओवादीलाई हेरौं एक पटक’ भन्ने नाराले एक चोटी ठूलो दल बनेपनि जनताको विपक्षमा उभिएकाले त्यसलाई जनताले परास्त गर्ने निश्चित छ ।’
आसन्न संविधानसभाको दोश्रो निर्वाचन नजिकिँदै गर्दा संघीय समाजवादी पार्टी खोटाङले आयोजना गरेको बृहत चुनावीसभामा बोल्दै उहाँले कांग्रेस र एमाले सिधासिधी पहिचान विरोधी र जनतालाई अलमल्याउने खेल मात्र खेल्ने पार्टी भएकाले तिनीहरूलाई सधैका लागि जनताले तिरस्कार गर्ने जनाउनुभयो ।
कांग्रेस र एमालेले बहुपहिचानको कुरा गरेर पहिचान पक्षधरलाई सिध्याउने खेल खेलेपनि उनीहरू असफल हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस एमालेको बहुपहिचानले जनताको अधिकार खोस्ने र त्यसले सधै जनतालाई दास बनाउने छ ।’ राईले थप्नुभयो, ‘उनीहरूको खेल जनताले बुझि सकेका छन्, अब भुलेर पनि कांग्रेस एमालेलाई भोट दिने छैनन् ।’
संघीय समाजवादी पार्टीलाई जातिवादी भन्नेहरू अतिवादी भएको राईले आरोप लगाउनुभयो । अहिलेसम्म नेपालका शासकहरूले एक धर्म, एक जात र एक भाषा जनतामा जबरजस्त थोपरेर उनीहरुको अधिकार कुण्ठित गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले एक धर्म, एक जात र एक भाषा थोपरेका छन्, उसैले जातिवादी भन्नु मिल्छ ?’ उहाँले थप्नुभयो, ‘अब त्यस्ता अतिवादी सोच भएकाहरूलाई नेपाली जनताले सधैका लागि बिदा गर्ने छन् ।’
सभालाई सम्बोधन गर्दै उहाँले नेकपा–माओवादीलाई पुराना दलहरूले जबरजस्त विद्रोह गर्न वाध्य पारेको राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा–माओवादी लगायत ३३ दलीय गठबन्दन पार्टीले सान्दर्भिक मुद्दा उठाए पनि त्यसको वेवास्ता गरेकाले अहिले नेकपा–माओवादीलाई आन्दोलनमा उत्रन बाध्य तुल्याएको छ ।’ उहाँले थप्नुभयो, ‘नेकपा–माओवादीलाई जबरजस्त आन्दोलनमा उतार्ने पुराना दलहरू हुन्’ राईले भने–‘यसको परिणाम उनीहरूले नै भोग्नेछन् ।’
संघीय समाजवादी पार्टीको क्षेत्र नं–१ र २ को संयुक्त चुनावी सभामा राईले एमालेमाथि आक्रोश पोख्दै उहाँले भन्नुभयो, ‘एमाले कुरा एउटा काम अर्को गर्ने काइते पार्टी हो’ राईले भन्नुभयो, ‘त्यस्तो जनताको विपक्षमा उभिने एमालेमा बसिरहन सार्दर्भिक लागेन, एमाले लगायतका अन्य ठूला भनाउदा दलको असफलताले संघीय समाजवादी पार्टीको जन्म भयो ।’
चुनावी सभामा संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्यहरु गणेश घिमिरे र रमेश राई तथा पार्टीका केन्द्रीय सदस्य एवं क्षेत्र नं–१ का उम्मेदवार देवराज राई, केन्द्रीय सदस्य एवं क्षेत्र नं–२ का उम्मेदवार सनबहादुर राइलगायतका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका थिए । 
सदरमुकाम दिक्तेलस्थित स्थानीय हेलीप्याडमा भएको कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुती समेत भएको थियो ।