मंसिर ५, खोटाङको दुवै निर्वाचन क्षेत्रको मतपेटिका सदरमुकाम दिक्तेल ल्याइएको छ । क्षेत्र नम्बर–२ को अति दुर्गम गाविस चिसापानी र छितापोखरीमा जम्मा गरिएको ४२ वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलीकोप्टरमार्फत दुई पटक लगाएर सदरमुकाम ल्याइएको हो ।
सदरमुकामदेखि टाढा र दुर्गम क्षेत्र भएकाले भरियालाई बोकाएर ल्याउन ढिलो हुने भएपछि हेलीकोप्टर प्रयोग गरिएको मुख्य अधिकृत ईश्वरीप्रसाद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार क्षेत्र नम्बर–१ अन्तर्गत हलेसी क्षेत्रको मतपेटिका गाढीमा र अन्य क्षेत्रको भरियामार्फत सदरमुकाम ल्याउने काम सकिएको छ ।
जिल्लाको दुई निर्वाचन क्षेत्रमा १ सय ७४ स्थायी र २ वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो । सबै मतदान केन्द्रको मतपेटीका जम्मा भइसकेकाले भोली बिहीबार बिहान सर्वदलीय बैठक बोलाएर मतगणनाका काम थालिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको कूल ९९ हजार ६ सय ६२ मतदातामध्ये यस पटकको निर्वाचनमा ७० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो संविधानसभा अर्थात २०६४ सालमा भएको निर्वाचनमा ९० हजार १ सय २ मत अर्थात ५२ प्रतिशत मत खसेको थियो । उक्त निर्वाचनमा कुल मतदाता संख्या १ लाख ८२ हजार ७ सय ९४ थियो ।
निर्वाचन कार्यालयका अनुसार यसपल्ट क्षेत्र नम्बर–१ मा ५० हजार ६२ र क्षेत्र नम्बर–२ मा ४९ हजार ६ सय मतदाता थिए ।
जिल्लाका १२ वटा दलका २४ उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । मत परिणाम आउँन बाँकी रहेपनि क्षेत्र नम्बर–१ मा एकीकृत नेकपा माओवादी, नेपाली काग्रेस र नेकपा एमालेवीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने, क्षेत्र नम्बर–२ मा पनि तीन दलवीच नै प्रतिस्पर्धा हुने अड्कल काटिएको छ ।
यसअघि, क्षेत्र नम्बर–१ मा एकीकृत नेकपा माओवादीका रामकुमार राई ‘पासाङ’ र क्षेत्र नम्बर–२ मा एमाओवादीकै समिता कार्की ‘अस्मिता’ले जित हात पारेको थियो ।