मंसिर–७, संविधासभाको दोश्रो निर्वाचन अन्तर्गत खोटाङको मत गणनाको परिणाम अनुसार दुवै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर–१ मा नेकपा एमालेका पाँचकर्ण राईले ६ हजार ७ सय ४७ मत ल्याउनुभएको छ भने, नेपाली काग्रेसका नरेशकुमार श्रेष्ठले ५ हजार ७ सय २४ मत र एकीकृत नेकपा माओवादीका दुर्गाजयन्ती राईले ४ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको छ ।


यस्तै, क्षेत्र नम्बर–२ मा पनि एमालेकै उम्मेदवार विशाल भटराईले अग्रता कायम गर्नुभएको छ । उहाँले ८ हजार ९ सय ७३ मत प्राप्त गर्नुभएको छ भने, नेपाली काग्रेसका विष्णुकुमार राईले ५ हजार ४ सय ९८ र एकीकृत नेकपा माओवादीका देवान राई ‘पृथ्वी’ले ४ हजार १ सय सय ९६ मत प्राप्त गर्नुभएको छ ।


भौगोलिक विकटताका कारण मत पेटिका समयमा नआएकाले तोकिएको समयभन्दा ढिलागरी मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले बताउनुभयो । दुई निर्वाचन क्षे रहेको खोटाङमा कूल ९९ हजार ६ सय ६२ मतदाता रहेका छन् । क्षेत्र नम्बर–१ मा ५० हजार ६२ र क्षेत्र नम्बर–२ मा ४९ हजार ६ सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


चुनावी प्रतिस्पर्धामा रहेका १२ दलमध्ये एकीकृत नेकपा माओवादीका प्रतिनिधि भने, केन्द्रको निर्णय भन्दै मत गणनामा सहभागिता जनाएका छैनन् । एमाओवादीले बहिस्कार गरेपनि जिल्लाको दुवै निर्वाचन क्षेत्रको मत गणना जारी छ ।


उता, एकीकृत नेकपा माओवादी खोटाङले जारी मतदान प्रकृया स्थगनको माग गरेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना कार्य जारी रहेको बेला बिहिबार अपराह्न दिक्तेलस्थित आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी एमाओवादीले निर्वाचन प्रकृयाको पुनरावलोकन र निष्पक्ष छानबिन गरेपछि मात्र मतगणनाका कार्यलाई अघि बढाउन माग गरेको छ ।


निर्वाचनमा आर्थिक चलखेल हुनु, दलका प्रतिनिधिको अनुपस्थितिमा मतपेटीका ओसारिनु, मतदान अधिकृतहरुलाई सुरक्षाकर्मीले मतपेटीका सदरमुकाम पु¥याउन नदिनुलगायतका कारण मतदान प्रकृया स्थगन गर्नुपर्ने एमाओवादीका जिल्ला इन्चार्ज समिता कार्कीले बताउनुभयो । देशमा धाँदलीपूर्ण र षडयन्त्रमूलक तरिकाले निर्वाचन भएको एमाओवादीको आरोप छ ।