मंसिर–७, संविधानसभाको दोश्रो निर्वाचनमा खोटाङको दुवै क्षेत्र नेकपा एमालेको पोल्टामा परेका छन् । 
क्षेत्र नम्बर–१ बाट विशाल भटराई र क्षेत्र नम्बर–२ बाट पाँचकण राई “पिके” विजयी हुनुभएको हो । 
क्षेत्र नम्बर–१ मा आफ्नो निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नरेशकुमार श्रेष्ठलाई १ हजार १ मतले पछि पार्दै भटराई विजयी हुनुभएको हो भने, क्षेत्र नम्बर–२ का काग्रेसकै अर्का उम्मेदवार विष्णुकुमार राईलाई ५ हजार २ सय ४ मतले पछि पार्दै विजयी हुनुभएको छ । “पिके” ले १० हजार ८ सय २४ मत र भटराईले १४ हजार ८ सय ८४ ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले जानकारी दिनुभयो । 
उता, एमालेको निकटतम् प्रतिद्धन्दी काग्रेसको तर्फबाट क्षेत्र नम्बर–१ का उम्मेदवार श्रेष्ठले ९ हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको छ भने, क्षेत्र नम्बर–२ का राईले ९ हजार ६ सय ८० मत प्राप्त गर्नुभएको छ । 
जिल्लामा एमालेले विगतको इतिहासलाई पुनःस्थापित गरेको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा दुवै क्षेत्रमा पराजय ब्यहोरेको एमालेले यस पटकको निर्वाचनमा बदला लिएको छ । 
यस भन्दा अघि २०६४ मा भएको संविधानसभाको निर्वाचन तथा २०५६ सालमा भएको संसदीय निर्वाचनमा दुवै क्षेत्रमा पराजय भोगेको एमालेले संगठन सुदृढीकरणको अभियान सञ्चानलन गर्दै आफ्नो पार्टीलाई विजयी बनाएको एमाले जिल्ला सचिव राजन राईले बताउनुभयो । 
क्षेत्र नम्बर–१ का पाँचकर्ण राई “पिके” लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय कार्यकर्ता हुनुहुन्छ भने, एमालेको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गर्नुभएका भटराईले जिल्ला पार्टीको उपसचिव, सचिव हुदै जिल्ला अध्यक्षको पदमा रहेर काम गर्दै आउनुभएको थियो । 
उता, एकीकृत नेकपा माओवादीका तर्फबाट क्षेत्र नम्बर–१ का दुर्गाजयन्ती राईले ७ हजार ५ सय १ मत प्राप्त गर्नुभएको छ भने, क्षेत्र नबर–२ का देवान किराती “पृथ्वी”ले ७ हजार ६ सय १ मत प्राप्त गर्नुभएको छ । 
जिल्लामा १२ दलका २४ जना उम्मेदवारले प्रत्यक्षमा आफ्नो उम्मेदवारी दिएका थिए भने, उत्तिनै संख्यामा समानुपातिक उम्मेदवारी परेको छ । कूल ९९ हजार ६ सय ६२ मतदाता रहेको जिल्लामा यस पटक जिल्लाकै सबैभन्दा बढि ७० प्रतिशत मत खसेको निर्वाचन आयोगको भनाइ छ ।
यस अघिको निर्वाचनमा एकीकृत नेकपा माओवादीले दुवै निर्वाचन क्षेत्रमा जित हात पारेको थियो । उस बेला क्षेत्र नम्बर–१ बाट रामकुमार राई ‘पासाङ’ र क्षेत्र नम्बर–२ मा समिता कार्की‘अस्मिता’ विजयी हुनुभएको थियो ।