मंसिर–११, नेपाल कम्यूनिष्ट पार्टी खोटाङले प्रगतीशिल शक्तिहरुलाई एकता र सहकार्यका लागि आव्हान गरेको छ । मुलूक नयाँ ध्रुबीकरणमा जाने संकेत देखिएको उल्लेख गर्दै नेपाल कम्यूनिष्ट पार्टीले परिवर्तनका पक्षधर शक्तिहरुलाई स्थानीय र केन्द्रस्तरमा मोर्चाबन्दी गर्नका लागि आव्हान गरेको हो । 
नियोजितरुपमा गरिएको संविधानसभाको निर्वाचन परिणामले परिवर्तन र प्रगतीको एजेण्डा लिएर अघि बढिरहेका दलहरुलाई कमजोर पारेको यो घडीमा प्रगतिशिल शक्तिहरुबीच एकता र सहकार्य अनिवार्य भएको नेपाल कम्यूनिष्ट पार्टीले जनाएको छ । आगामी दिनमा मुलूक नयाँ ध्रुबीकरणमा जाने प्रारम्भिक संकेतहरु देखा परेको जिल्ला अध्यक्ष श्याम राईले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ,–‘यसलाई ख्याल गरेर स्थानीय र केन्द्रीयस्तरमा मोर्चा बन्दीका लागि सबै परिवर्तन पक्षधर शक्तिहरुलाई आव्हान गर्दछौं ।’
निर्वाचनका दौरान विभिन्न ठाउँमा धाँदली भएको घटना सार्वजनिक भएको जनाउँदै पार्टीले यसका विषयमा निष्पक्ष छानबीनको माग गरेको छ । निर्वाचनमा स्वयम निर्वाचन आयोग र सुरक्षामा खटिएका सुरक्षाकर्मी समेत विवादको घेरामा परेको विज्ञप्तीमा उल्लेख छ । 
विभिन्न वाधा, व्यवधानका बाबजुद पनि मतदान कार्यमा संलग्न भएका मतदाता, सहयोगीहरुप्रति पार्टीले आभार प्रकट गर्दै खोटाङ्गे जनताको संघर्षमा सँधै अग्रसर रहने जनाएको छ ।