मंसिर–१३, डकैतीमा संलग्न ४ युवालाई खोटाङमा हतियार सहित पक्राउ गरिएको छ । जिल्लाको उत्तरी गाविस दुवेकोल–१ का मानबहादुर विश्वकर्माको घरमा डकैती गरेको आरोपमा खोटाङको माक्पा–९ का १९ वर्षीय विकास विश्वकर्मा, माक्पा–९ का २९ वर्षीय नवराज राई, भोजपुर वालाङ्खा–१ का २३ वर्षीय उपेन्द्र राई र धादिङ भूमेस्थान–७ का २४ वर्षीय शंकर घलानलाई हतियारसहित पक्राउ गरिएको हो । 
विश्वकर्माको घरमा डकैती गरेको भोलीपल्टै उनीहरुलाई रिभल्बरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो ।  विश्वकर्माको घरमा गत मंगलबार राती डकैती गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई बुधबार खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दुधकोसीनदी किनारास्थित रभुँवाघाटबाट पक्राउ गरिएको खोटाङका साहले जानकारी दिनुभयो । 
डकैतीपछि रभुवाबाट नदी तरेर ओखलढुंगातर्फ जान लागेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट एक थान यूएसए रिभल्बर, सो को एक थान गोली, तामा र चाँदीको पूराना २६ थान सिक्का, बल्ने ढुंगा भनिएको एक थान वेट पेपर र एक वटा लेडिज घडी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङले बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 
प्रहरीका अनुसार ६÷७ जनाको समुहमा गएका डाका समूहले विश्वकर्मा परिवारलाई नियन्त्रणमा लिएर नगद ५० हजार, ३ थान सिकोफाईभ घडी, एक वटा दाहिने शंखलगायतका धनमाल लुटेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दुर्गाराज रेग्मीको नेतृत्वमा प्रहरीचौकी डुम्रेधारापानी, प्रहरी चौकी खार्पा र लामीडाँडा बिमानस्थल सुरक्षा गार्डबाट खटिएका प्रहरीको टोलीले नियन्त्रण्मा लिएको हो । 
प्रहरीका अनुसार डकैतीमा संलग्न अन्य २ जना फरार छन् । सुनसरी र धनकुटा ठेगाना भएका उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । 
फरार रहेका युवा पुर्वमाओवादी लडाकु रहेको अनुसन्धानबाट खुलेको साहको भनाइ छ । काठमाडौं, धरान लगायतका शहरलाई आश्रय बनाएर डकैती गर्दै आएका यो समुहको सञ्जालका बारेमा थप खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।