मंसिर–१४, खोटाङका स्थानीय सञ्चार माध्यमहरुले बैदेसिक रोजगार सम्वन्धी विज्ञापन प्रशारणमा कडाई गरेको छ । एजेण्टहरुले विभिन्न मेनपावर कम्पनीको नाममा विज्ञापन प्रशारण गर्दै ठगी गरिरहेको गुनासो आएपछि स्थानीय सञ्चार माध्यमहरुले बैदेसिक रोजगार सम्वन्धीका विज्ञापन प्रशारणमा कडाई गरेको हो । 
अनाधिकृतरुपमा काम गर्ने एजेण्टहरुले बैदेसिक रोजगार विभागको इजाजतबीना विज्ञापन प्रशारण गर्दै जिल्लाका युवायुवतीलाई ठगी गरिरहेको खुलासा भएपछि छापा तथा विद्यूतीय सञ्चार माध्यमहरुले बैदेसिक रोजगार सम्वन्धी विज्ञापन प्रशारणमा कडाई गर्नुपर्ने अवस्था आएको हो । कम्तीमा पूर्व स्वीकृति मिति, लट नम्बर, चलानी नम्बर र श्रम इजाजात नम्बर उल्लेख भएको आधारमा मात्र बैदेसिक रोजगार सम्वन्धीका विज्ञापन प्रशारण गर्ने स्थानीय रुपाकोट रेडियोका स्टेशन मेनेजर टंक थापाले बताउनुभयो । 
श्रम तथा रोजगार मन्त्रालय अन्तरगत सुरक्षित आप्रवासन परियोजना (सामी) हेल्भेटास स्वीस ईन्टरकोअपरेशन र जनसेवा समाज जालपाको समन्वयमा जिल्लाका सञ्चार माध्यमहरुले बैदेसिक रोजगार सम्वन्धी विज्ञापन प्रशारणमा कडाई शुरु गरेको हो । सामी हेल्भेटास स्वीस ईन्टरकोअपरेशन र जनसेवा समाज जालपाले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी सञ्चार सम्वद्ध व्यक्तीहरुले न्यूनतम् मापदण्डका आधारमा मात्र बैदेसिक रोजगार सम्वन्धी विज्ञापन प्रशारण गर्ने प्रतिवद्धता जनाएका छन् । 
इजाजत नलिएका एजेण्टहरुले विज्ञापनमार्फत राम्रो काम र दामको सपना बाँड्दै ठगी गरिरहेका कारण इजाजत लिएनलिएको आधारमा विज्ञापन प्रशारण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरिएको परियोजनाको जिल्ला संयोजक भक्त राईले बताउनुभयो । अनाधिकृत एजेण्टमार्फत विदेश जाने युवायुवतीले तोकिएको काम र दाम नपाएको, तोकिएभन्दा बढि रकम तिर्नुपरेको संयोजक राईको भनाइ छ । 
जिल्लाका छापा तथा विद्युतीय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीको सहभागीता रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तिलकराज पोखरेल र परियोजनाका संयोजक राईले सहजीकरण गर्नुभएको थियो ।