मंसिर–१४, आर्थिक वर्ष २०७१/०७२ मा खोटाङको कृषि उत्पादन अभिवृद्धिका कार्यलाई प्रमुख प्राथमिकता दिइने भएको छ । जिल्ला बिकास समितिको हलमा बिहिबार आयोजना गरिएको पूर्वयोजना तर्जुमा गोष्ठीमा स्थानीय बिकास अधिकारी युवराज अधिकारीले जिल्लाको समग्र विकासका लागि कृषि उत्पादन अभिवृद्धिका कामलाई पहिलो प्राथमिकता दिइने जानकारी दिनु भयो । यस आर्थिक वर्ष जिल्लाको समग्र विकास एबं कृषि उत्पादन अभिवृद्धिकालागि यातायात तथा भौतिक विकास, गुणात्मक शिक्षा प्रवद्र्धन, जनस्वास्थ्य सेवाको गुणात्मक बिस्तार, सुशासनको अभिवृद्धि, मझौला तथा साना जलविद्युत विकास लगायतका योजनाहरुलाई प्राथमिकता दिएर काम गरिने स्थानीय बिकास अधिकारी अधिकारीले बताउनु भयो ।

यस्तै, जलवायु परिवर्तनबाट पर्ने असर न्युनिकरण गर्न वन तथा भू–संरक्षण, पर्यटन विकासको लागि भौगोलिक धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको संरक्षण, सञ्चार क्षेत्रको आधुनिकीकरण, साना तथा मझौला उद्योगको स्थापना लगायतका योजनाहरुलाई पनि प्राथमिकतामा राखिने जिल्ला बिकास समितिले जनाएको छ ।

केही वर्षअघि बनाइएको खोटाङको पञ्च वर्षीय आवधिक योजनाहरुलाई ध्यानमा राख्दै गोष्ठीले कृषि क्षेत्रको विकास गर्ने खालका पूर्वाधारहरु सिर्जना गर्ने लक्ष्य तय गरेको हो । ‘सृजनशिल खोटाङको चाहना, समतामूलक, आत्मर्निभर र समृद्ध समाजको स्थापना’ भन्ने नाराकासाथ यस वर्ष समावेशी तथा समन्यायिक आर्थिक एवं सामाजिक रुपान्तरणलाई सघाउ पु¥याउने खालको योजनालाई प्रमुख प्राथमिकता दिइएको अधिकारीले जानकारी दिनु भयो । यस आर्थिक वर्ष सुशासन एवं सेवा प्रवाहलाई प्रभावकारी बनाउने समष्टीगत रणनीति पनि अवलम्बन गरिने स्थानीय बिकास अधिकारीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ । पूरानै मार्गदर्शनलाई निरन्तरता दिँदै जिल्ला बिकास समितिको पूर्वयोजना तर्जुमा गोष्ठी बिहिबार सम्पन्न भएको हो । न्यूनतम शर्त मापनमा जिल्लालाई अनुत्तिर्ण हुनबाट जोगाउनकालागि एक दिन अगाडि पूर्वयोजना तर्जुमा गोष्ठी गरिएको जिल्ला बिकास समितिले जनाएको छ ।

पुर्वयोजना तर्जुमा गोष्ठी पछि ईलाका स्तरिय योजना तर्जुमा गोष्ठी, ईलाका स्तरिय योजना तर्जुमा गोष्ठीबाट आएका योजनाका प्रस्ताबहरुलाई समेटेर एकीकृत योजना तर्जुमा गोष्ठी तथा फागुन पहिलो हप्ताभित्र जिल्ला परिषद गर्ने जिल्ला बिकास समितिले जनाएको छ । बिकास समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न बिषयगत कार्यालयका प्रमुख, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुको सहभागीता रहेको थियो ।