मंसिर–१७, बेलिब्रीज जडान नहुँदा खोटाङमा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । ओखलढुंगा र उदयपुरको घुर्मीस्थित सुनकोसी तथा ओखलढुंगा र खोटाङको बीचमा पर्ने दूधकोसी नदीमा बेलिब्रीज जडान नहुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव भएको हो ।

बेलिब्रिज जडान नहुँदा जिल्लामा चामल, नुन, तेल, दाल, ग्याँस, चिनी, साबुन जस्ता दैनिक उपभोग्य वस्तुको अभाव उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यवसायीले ‘स्टक’ गरेर राखेका उपभोग्य सामान सकिइसकेका कारण जिल्लामा दैनिक उपभोग्य वस्तु पाउन छाडिएको हो ।’ सैंजूले थप्नुभयो, ‘चाँडै बेलिब्रीज जडानको आसामा व्यवसायीले सामान स्टक गरेनन्, त्यही भएर दैनिक उपभोग्य वस्तुको अभाव भएको हो ।’
सडक विभागले दुधकोसी र सुनकोसीको अस्थायी बेलिब्रीज जडान गर्न टेण्डर भइसकेको बताए पनि अहिलेसम्म काम भएको छैन । दुवै बेलिब्रीज गत कात्तिक–१५ भित्रै जडान गर्ने भनिएको थियो । दुवै नदीका बेलिब्रिज वर्षामा निकाल्ने र हिउँदमा जडान गर्ने चलन छ ।
हिउँदमा दिक्तेलबाट तराई तथा राजधानी काठ्माडौंसम्म सीधा यातायात सञ्चालन हुन्छ तर, बर्खामा उदयपुरको कटारी वा काठ्माडौं आवतजावत गर्नकालागि कम्तीमा ३ वटा सवारी साधन फेर्नुपर्ने बाध्यता छ ।
भरियालाई बोकाएर ल्याइएका सामान बेलिब्रिज सञ्चालनमा आएलगत्तै मूल्य घटाएर बिक्री गर्नुपर्ने समस्याका कारण उपभोग्य सामान स्टकमा नराखेको व्यवसायीहरुको भनाइ छ । व्यापरीहरु भन्छन्, ‘भरियालाई बोकाएर नदी तार्दै सामान ल्याउनुपर्ने हुन्छ, त्यही पनि भनेको समयमा भरिया नपाउँदा बीच बाटोमै सामान अलपत्र हुने गरेको छ ।
नदीमा तत्काल बेलिब्रिज सञ्चालनमा नआए जिल्लामा आगामी पुससम्म यस्तै समस्या यथावत रहने वाणिज्य संघले जनाएको छ । यसका लागि प्रशासनले चासो नदेखाएको सर्वसाधारणको आरोप छ ।