मंसिर–१८, जिल्ला अदालत खोटाङले अपहरण, शरीर बन्धक तथा फिरौती मुद्दाका पाँच जनालाई धरौटी लिई तारेखमा छाडेको आदेश पुनरावेदन अदालतले बदर गरिदिएको छ । उदयपुरको त्रियुगानगरपालिका–२ का काष्ठ व्यवसायी ३५ वर्षीय जनार्दन रेग्मीको अपहरण, शरीर बन्धक तथा फिरौती मुद्दा लागेका सुनिल राई लगायतलाई पुनरावेदन अदालतले तत्काल आदेश बदर गरी आवश्यक कारबाही गर्न आदेश दिएको हो ।
काष्ठ व्यवसायी रेग्मीलाई गत वर्षको चैत्र–१५ गते बुइपा–२ का सुनिल राई, अम्बर राई, सल्लेका रबिन राई, दिनेश राई र निकाश राईले नियन्त्रणमा लिई सांघातिक आक्रमण गरेको भन्दै जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो । उक्त मुद्दा लागेका उनीहरुलाई जिल्ला अदालत खोटाङका तत्कालिन जिल्ला न्यायधिश प्रकाशकुमार काफ्लेको एकल इजलासले बैशाख–१२ गते दश÷दश हजार धरौटीमा छाडेको थियो । धरौटी लिई तारेखमा छाडेको आदेश ठीक नभएको भन्दै पुनरावेदनले बदर गरेको अदालतका श्रेष्तादार भिष्म भट्टराईले बताउनुभयो । 
एमाले भातृ संगठन युथफोर्सका जिल्ला अध्यक्ष समेत रहेका बुइपा–२ का सुनिल राईलगायत पाँच जनाको समूहले काष्ठ व्यवसायी रेग्मीलाई खयर निकासीको कमिशन विवादमा आक्रमण गरेका थिए । प्रतिकेजी तीन रुपैयाका दरले कमिसन लिदै आएका उनीहरुले त्यस पटक सात रुपैयाँका दरले कमिशन मागेको र कुरा नमिलेपछि आक्रमण गरेको रेग्मीको भनाइ छ ।