मंसिर–३०, खोटाङमा बाटो हिँडिरहेको अवस्थामा एक महिलाले लगाएको सुन लुटिएको छ । दिक्तेलस्थित रत्नपार्कमा शुक्रबार राती हिँडिरहेको अवस्थामा सप्तेश्वर–३ घर भई हाल सोही स्थानमा बसोबास गर्ने मनुहिमाल राईले कानमा लगाएको एक तोला सुनको रिङ लुटिएको हो ।
आफन्तकोबाट कोठा फर्कनेक्रममा बाटो ढुकेर बसिरहेका एक व्यक्तिले आँखामा धुलो खुर्सानी हाली दिएर दुवै कानमा लगाएको रिङ लुछेर लगेको पीडित राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म आफन्तकोमा गएर फर्कदै थिएँ, एक्कासी मेरो आँखामा खुर्सानीको धुलो हाली दियो र मुख थुनेर कानमा लगाएको सुन लुछेर लग्यो ।’ 
पीडित महिलाका अनुसार लुटेराको हुलिया सेतो क्याप, जिन्सको पाइन्ट र खैरो ज्याकेट लगाएका छन् । उता, लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।