मंसिर–३०, झगडाको विषयलाई लिएर खोटाङमा दुई परिवार सामाजिक बहिस्करणमा परेका छन् । मात्तिम–७ का जयबहादुर खत्री र गम्भसिंह बिष्टको परिवार सामाजिक बहिस्करणमा परेका हुन् ।
स्थानीय गम्भसिंह बिष्टका २२ वर्षीय छोरा हीराकाजी बिष्ट र स्थानीय अर्जुन खत्रीकी १९ वर्षीय छोरी रेणुका खत्रीबीच भएको सामान्य भनाभनपछि त्यसैको विषयमा भएको झगडाका कारण आफूहरू सामाजिक बहिस्करणमा परेको गम्भसिंह बिष्टले बतानुभयो । उहाँका अनुसार स्थानीय सरस्वती उच्च माविमा अध्ययनरत हीराकाजी र रेणुका गेसपेपरको बारेमा सामान्य भनाभन भएको विषयलाई लिएर गाउँमा झगडा हुँदा स्थानीय गोपी खत्रीका १८ वर्षीय छोरा सञ्जीव खत्री घाइते भएका थिए ।
गम्भसिंह बिष्टका अनुसार स्थानीय मानबहादुर खत्री, कोपिला खत्री, अर्जुन खत्री, शम्भु खत्री, धनबहादुर खत्री लगायतले आफूहरूलाई गाउँमा हुने सामाजिक कार्यमा संलग्न हुनबाट बन्चित गराउनुका साथै पूजाआजामा समेत समावेश हुन दिइएको छैन । यसबारे दाजुभाइको निर्णयले त्यसो गरेको मानबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, –‘दाजु भाइले यस्तो निर्णय गरेको हो ।’ उहाँले थप्नुभयो, –‘यस सम्बन्धमा मलाई नसोध्नुस् ।’
घटनाबारे विस्तृत बुझ्न इलाका प्रहरी कार्यालय मात्तिमबाट प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, –‘पीडित पक्षबाट जानकारी आएसँगै घटनाको बारेमा बुझ्न प्रहरी खटाइएको छ, के भएको हो ? त्यसपछि थाहा हुन्छ ।’