पुस–१, खोटाङको पाथेकामा विजुली बलेपछि स्थानीय उपभोक्त हर्षित भएका छन् । इसापको ९३ लाख, गाविसको २१ लाख तथा उपभोक्ताको ८६ लाखको लगानीमा पूरा भएको आयोजनाबाट उत्पादन भएको विद्युतले गाविसका ३ सय ८० घरधुरी उपभोक्ता हर्षित भएका हुन् । 
दिउँसो बन्द गर्ने र बेलुका बालिने लघुजलविद्युत आयोजनाले गाउँमा कुटानीपिसानीका मिल सञ्चालन गर्ने तयारी गरिएको छ । हाल २ नम्बर बाहेक सबै वडामा बिस्तार गरिएको विद्युत केही समयपछि २ नम्बर वडामा पनि बिस्तार गरिने जनाइएको छ । 
सबै वडामा विद्युत बिस्तार भएपछि गाविसका कुल ५ सय ६५ घरधुरीमा विद्युतको पहुँच पुग्ने छ । स्थानीय नाखाम खोलाबाट उत्पादन गरिएको लघुजलविद्युत आयोजना निर्माणका क्रममा आर्थिक अभाव भएपछि गरिएको जनश्रमदानलाई शेयरमा बदलिएको नाखाम खोला सामुदायिक लघुजलविद्युत उपभोक्ता संस्थाका अध्यक्ष अग्नीप्रसाद राईले बताउनुभयो । 
पाथेका–४ को चिम्चिमा दोभानमा पावरहाउस राखिएको नाखाम खोला सामुदायिक लघुजलविद्युत उपभोक्ता संस्थालाई सहकारीको रुपमा सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष राईले बताउनुभयो । खोटाङको पाथेकास्थित नाखाम खोला लघुजलविद्युत आयोजना उद्घाटन भएको छ । 
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ईसाप, गाविस तथा उपभोक्ताको लगानीमा निर्माण भएको ६० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना शनिबार उद्घाटन गरिएको हो । दुई वर्षमा पूरा भएको आयोजना आरआरएन खोटाङका प्राविधिक कृष्ण विश्वकर्माले उद्घाटन गर्नुभएको हो । 
लघुजलविद्युत आयोजना उद्घाटनकालागि सदरमुकाम दिक्तेलबाट राजनैतिक दलका नेता तथा कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि पाथेका पुगेका थिए । आयोजना उद्घाटन कार्यक्रममा निर्माण समिति, उपभोक्ताको उत्साहजनक सहभागीता रहेको थियो । 
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बबी चामलीङ, एकीकृत नेकपा माओवादीका कार्यालय सचिव सुरेश राई, संघीय समाजवादी पार्टीका उपाध्यक्ष पिके खम्बू लगायतका नेताहरु पाथेका पुग्नुभएको थियो ।