पुस–६, खोटाङमा पहिलो पटक एक गाउँ एक उत्पादन कार्यक्रम शुरु भएको छ । कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम शुरु गरिएको हो । 
खोटाङ उद्योग वाणिज्य संघले पिपिपि मोडलमा पहिलो पटक जिल्लाको दुई गाविसमा कार्यक्रम सञ्चालन गरेको वाणिज्य संघका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । उक्त कार्यक्रमका लागि जिल्लास्थित विषयगत कार्यालयलाई आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरिएको अध्यक्ष सैंजूले जानकारी दिनुभयो । 
पहिलो पटक शुरु गरिएको कार्यक्रम अन्तर्गत नुनथला र कुभिण्डेमा आलु खेती लगाइएको छ । प्राविधिक टोलीको परीक्षणपछि उक्त क्षेत्रमा व्यवसायिक रुपमै आलु खेती शुरु गरिएको वाणिज्य संघका अध्यक्ष सैंजूको भनाइ छ । 
यसैवीच, उक्त कार्यक्रमको बारेमा जानकारी दिनका लागि वाणिज्य संघले कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । जिल्ला विकास समितिको सभाहलमा भएको कार्यक्रममा उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि आ–आफ्नो क्षेत्रबाट जिल्लास्थित राजनीतिक दल, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालालगायतले प्रतिवद्धता जनाएका छन् ।