पुस–१०, चौतर्फी विरोधको वावजुद पनि खोटाङमा रमाइलो मेला सञ्चालन भएको छ । मेलामा जुवाजन्य तथा अन्य बिलासिताका खेल सञ्चालनले विकृति आउने भन्दै विरोध भइरहेको अवस्थामा जिल्ला प्रशासनले स्वीकृति दिएपछि मेला सञ्चालन भएको हो ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जुवाजन्य खेल बाहेक रोटेपिङ, सांस्कृतिक कार्यक्रम लगायतका स्वच्छ मनोरञ्जन प्रकृतिका खेलका लागि मात्र स्वीकृति दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘रोटेपिङ, सांस्कृतिक कार्यक्रम लगायतका स्वच्छ मनोरञ्जनका आइटम बाहेक अन्य खेल सञ्चालन गरिए स्वीकृति भङ्ग गरिने छ ।’ उहाँले थप्नुभयो– ‘जुवाजन्य आइटमका कुनै पनि गतिविधि गर्न पाइने छैन ।’
मेला सञ्चालनमा कमिशन बाँडफाँड हुने हल्ला चलेपछि चार दिनदेखि विवाद थियो । जिल्लास्थित नेत्रज्योति संघको सहयोगार्थ मेला सञ्चालन गर्ने भनिए पनि राजनीतिक दल, प्रशासन, डन लगायतलाई कमिसन दिने चर्चा चलेपछि विवाद चुलिएको हो ।

नेत्रज्योति संघले मेला सञ्चालन गर्न पाउने नपाउने भन्ने बारेमा समेत विवाद थियो । मेला सञ्चालकसँग पनि मेला सञ्चालनको आधिकारिक कागजात नभएकाले नेत्रज्योति संघलाई मेला सञ्चालनको स्वीकृति दिएको प्रजिअ नेपालले बताउनुभयो । 
मेला सञ्चालन गरिए पनि त्यसमा आफ्नो पार्टीको सहमति नभएको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेलामा फजुल खर्च हुने भएकाले यसमा आफ्नो पार्टीले समर्थन नगरेको हो ।’ राईले थप्नुभयो –‘ मेलामा सङ्कलन भएको रकम पनि उतै जाने भएकाले जिल्लाको अर्थतन्त्रमा ठूलो असर पर्छ ।’