पुस–११, शान्तिको कामना गर्दै विश्व भ्रमणमा निस्किएका कास्की हेम्जा–२ टिबिटियन क्याम्पका ‘सिक्का बाबा’ खोटाङ आइपुगेका छन् । २०६९ साल मंसिर–२१ गतेका दिन कास्कीबाट विश्व भ्रमण थालेका ४३ वर्षीय रामबहादुर परियार ‘सिक्का बाबा’ बुधबार खोटाङको सदरमुकाम दिक्तेल आइपुगेका हुन् । 
दिक्तेल आइपुगे लगत्तै जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरुसँग गरिएको भेटघाट कार्यक्रममा सिक्का बाबाले देशमा शान्ति, संविधान तथा यातायात सेवाको विकासका लागि दवावमूलक सन्देशका साथ विश्व भ्रमणमा निस्किएको बताउनुभयो । नेपाल बाहेक विभिन्न १८० देशका १४ किलो ४ सय ग्राम तौलको सिक्का टाँसेका कपडा र टोपी लगाएका सिक्का बाबाले १७ वर्षभित्र विश्व भ्रमण पूरा गर्ने दावी गर्नुभयो ।
पैदल तथा यातायातको माध्यमबाट भ्रमण गरिरहेका बाबाले भ्रमण गरेको जिल्ला खोटाङ ६० औं जिल्ला हो । हालसम्म अविवाहित सिक्का बाबाले सरकारी तथा गैर–सरकारी कार्यालय, व्यवसायी तथा व्यक्तिको आर्थिक सहयोगमा भ्रमण खर्च जुटाइरहेको बताउनुभयो । 
नेपालका बाँकी जिल्लाको भ्रमण सकिए लगत्तै विश्व भ्रमणमा निस्किने उहाँले पत्रकारहरुलाई जानकारी दिनुभयो । सिक्का टाँसेको कपडा लगाएको सपना पटक–पटक देखेपछि सोही अनुसार भ्रमणमा निस्किएको उहाँको भनाइ छ । 
बुबा धनबहादुर परियार र आमा माइली परियारका छोराकारुपमा जन्मिएका परियारले अगाडि र पछाडि दुबैतिरबाट लगाउन मिल्ने १९ पिसबाट बनाइएको कमिज तथा पेन्ट लगाउनुभएको छ । नेपाल आएका पर्यटकहरुसँग मागेर शरीरमा टाँस्ने सिक्का जम्मा गरिएको परियारले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय नेपाली सिक्काहरु भने आफैले किन्नुभएको हो । 
भोजपुरबाट खोटाङ आएका परियार ओखलढुंगा जाने तयारीमा छन् । ट्रेकिङ तथा नेपाल प्रहरीको जुत्ता सिलाउने पेशा छाडेर शान्ति भ्रमणमा निस्किएका परियारले नेपाललाई विश्वभर चिनाउने अठोट लिएको बताउनुभयो ।